कन्यामको दृश्यावलोकनका लागि बनाइयो ‘स्काई वाक’
2022-11-05 16:07:34cri
Share with:

इलामको कन्याममा स्काई वाक टावर (मान्छे हिँड्ने सिसाको टावर) निर्माण गरिएको छ। यो स्काई वाकबाट कन्याम चियाबारीसहित वरपर टाढासम्मको दृश्यसमेत देखिन्छ। पर्यटकहरुलाई आकर्षित गर्न कन्याम क्लाउडमा आबद्ध १६ जना महिला उद्यमीको ५ करोड रुपैयाँ संयुक्त लगानीमा टावर निर्माण गरिएको अनलाइन खबरले लेखेको छ।

कन्याम क्लाउडकी रीता भुसालले कन्याम आएका पर्यटकलाई सिसाको टावरमा चढेर तल चियाबारीको दृश्य देखाउन स्काई वाक निर्माण गरिएको बताउनुभयो। ‘यो स्काई वाकबाट कन्याम चियाबारीसहित वरपर टाढासम्मको दृश्यसमेत देखिन्छ,’ उहाँले भन्नुभयो, ‘यो बिल्कुल नयाँ संरचना भएकाले बढीभन्दा बढी पर्यटक आकर्षित हुने सम्भावना छ।’

स्काई वाकको मज्जा लिन अहिले पर्यटकले प्रतिव्यक्ति ३ सय रुपैयाँ तिर्नुपर्ने छ। अन्य संरचना समेत निर्माण भएपछि टिकट दर ५ सय रुपैयाँ पुग्नसक्ने उहाँले जनाउनुभयो। ‘कन्याम आउने प्रत्येक पर्यटकले यसको नौलो आनन्द लिन पाउनेछन्,’ उहाँले भन्नुभयो, ‘नेपालमात्र नभइ भारतको दार्जिलिङ र पश्चिमबंगालबाट आएका पर्यटकसमेत यसप्रति आकर्षित हुनेछन्।’

टावरमा सिँढी बनाइएको छ। सिँढीको सिरानमा ४ मिटर चौडाइ र ७ मिटर लम्बाइको सिसा राखिएको छ। सिसामा चढेर दृश्यावलोकन गरी पर्यटकले आनन्द लिन सक्छन्। उहाँका अनुसार स्काई वाकसँगै २ वटा स्विइङ, बालउद्यान र रेस्टुरेन्टसमेत निर्माण गरिँदैछ। तर, ती संरचना निर्माण गर्न केही महिना लाग्ने छ।

फोटो, भिडियो खिच्ने र साँस्कृतिक पहिरन लगाएर पनि फोटो खिच्न पाइनेछ। टावरमा एकपटक २२ जनासम्म चढ्न सक्ने क्षमता भए पनि हाल ८ जनासम्म चढाउने गरिएको छ।

स्काइ वाक गर्ने पर्यटकको सुरक्षाका लागि स्वीच कभर, चढेका व्यक्तिहरुको संख्या रेकर्ड राखिने र सुरक्षा गार्डहरु पनि हुनेछन्। ‘कन्यामले अब पर्यटकका लागि नयाँ गन्तव्य र आकर्षण पाएको छ,’ भुसालले भन्नुभयो, ‘बाँकी संरचनासमेत निर्माण भएपछि धेरै संख्यामा पर्यटक यहाँ भुल्नेछन्।’

भुसालले पर्यटकीय क्षेत्र भेडेटार र काठमाडौंको कमलादीमा समेत स्काई वाक टावर निर्माण भइरहेको जानकारी दिनुभयो। सगरमाथा बेसक्याम्पमा ११ अर्ब रुपैयाँ लगानीमा केबलकार सञ्चालन गर्ने जानकारी पनि उदघाटनको अवसरमा दिइएको छ।

मेची राजमार्गको कन्याम चियाबगान नजिकै निर्माण गरिएको संरचनाको सूर्योदय नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, अभिनेत्री वर्षा राउत र गायिका एलिना चौहानले संयुक्त रुपमा उदघाटन गर्नु भएको हो। नगर प्रमुख राईले सूर्योदय प्रदेश १ कै एक मात्र पर्यटकीय नगरी भएकाले निजी क्षेत्रबाट पर्यटनमा लगानी हुनु सकारात्मक भएको बताउनुभयो। उहाँले नगरले समेत पर्यटकीय गन्तव्यहरु विकासका लागि करोडौ लगानी गरिरहेको बताउनुभयो। उहाँले संघीयतापछि स्थानीय सरकारको प्रयासमा पर्यटकहरुलाई आकर्षित गर्न विभिन्न गन्तव्यहरुलाई ब्युटिफिकेसनको कार्य समेत गर्दै आएको जनाउनुभयो।