अक्टोबरमा ८८ हजार ५८२ पर्यटकद्वारा नेपाल भ्रमण
2022-11-05 16:04:30cri
Share with:

पछिल्लो १० महिनामा नेपालमा झण्डै ५ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक संख्यामा पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको अनलाइन खबरले लेखेको छ।

बोर्डको तथ्यांक अनुसार अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक नेपाल आए। सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल आएका थिए। यससँगै जनवरीदेखि अक्टोबरसम्म कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक भित्रिएको तथ्यांकमा देखिएको छ।

अक्टोबरमा भारत र अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक भित्रिए। भारतबाट १६ हजार ९१० पर्यटक आएका छन्। अमेरिकाबाट यस महिनामा ११ हजार ८५९ जना पर्यटक नेपाल आएका छन्। बेलायतबाट ७ हजार ११७, जर्मनीबाट ४ हजार ९३५, फ्रान्सबाट ४ हजार ९२९, अष्ट्रेलियाबाट ३ हजार ९४६, बंगलादेशबाट २ हजार ७२० जना पर्यटक अक्टोवर महिनामा नेपाल आएको बोर्डले जनाएको छ।

चालु वर्षमा गत जनवरीमा १६,९७५ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने फेब्रुअरीमा १९,७६६ पर्यटक भित्रिएका छन्। त्यसैगरी मार्चमा  ४२,००६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् भने अप्रिलमा  ६१,५८९ ले भ्रमण गरेका छन्। गत मे महिनामा ५३,६०८ विदेशी पर्यटकले नेपाल भ्रमण गरे भने जुन महिनामा ४६,९५७ पर्यटक नेपाल प्रवेश गरेका छन्। गत जुलाईमा ४४,४६२ र अगष्टमा ४१,३०४ ले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्याङ्कले देखाउँछ। गत सेप्टेम्बर महिनामा ५८,३१४ र अक्टोबरमा ८८,५८२ विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्।