नेपालमा लोकप्रिय हुँदै लामो दूरीमा बिजुली गाडी
2022-11-06 16:17:52cri
Share with:

साझा यातायातले असारयता मात्रै काठमाडौँ उपत्यकामा तीनवटा विद्युतीय बस सञ्चालनमा ल्यायो । थप ३७ विद्युतीय बस केही महिनाभित्रै सञ्चालनमा आउने साझाको तयारी छ । उपत्यकामा सुन्दर यातायातले वपन ९ वटा बस सञ्चालन गर्छ । लामो रुटमा पनि विद्युतीय सवारीको संख्या बढिरहेको छ । पाँच महिनायता सुन्दर यातायातकै २ वटा विद्युतीय बस काठमाडौं–जनकपुर रुटमा चलिरहेका छन् । काठमाडौंदेखि बर्दिबास, मरिण खोला, सिन्धुली, जनकपुरलगायत अरू लामा रुटमा समेत विद्युतीय सवारी सञ्चालनमा रहेका कान्तिपुर अनलाइनले लेखेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै सय किलोवाटसम्मका ६ सय ८६ कार, जिप, भ्यानलगायत विद्युतीय सवारी आयात भएको छ । यस्तै, सय किलोवाटभन्दा माथिका १९ कार, जिप, भ्यान भित्रिएका छन् भने २ हजार ३ सय ९३ तीनपांग्रे विद्युतीय सवारी आयात भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्ष सय किलोवाटसम्मका ९ सय ९६ वटा, सय किलोवाट माथिका ८ सय ११ र तीनपांग्रे ६ हजार ४ सय ५ वटा आयात भएका थिए । यस्तै, २०७७/७८ मा सय किलोवाटसम्मका १ सय ४५, सय किलोवाटमाथिका १०४ र तीनपांग्रे सवारी एक हजार ९ सय ४३ वटा भित्रिएका विभागको तथ्यांक छ ।

विद्युतीय सवारीका लागि लक्षित गरी २०७८ जेठबाट राजमार्ग जोड्ने मुख्य–मुख्य सहरमा ५१ वटा चार्जिङ स्टेसन निर्माणको काम जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चार्जर राख्ने, ट्रान्सफर्मर, विद्युत्को लाइन तान्न ३७ करोड लागत छुट्याइएको छ । एक वर्षयता निजी क्षेत्रबाट पनि २६ वटा चार्जिङ स्टेसन निर्माण भइसकेका छन् । तिनमा पनि ट्रान्सफर्मरलगायत संरचना निर्माणमा प्राधिकरणले सघाएको छ ।

डिजेलको तुलनामा विद्युतीय सवारी चलाउन सजिलो हुने काठमाडौंदेखि बर्दिबास रुटका माइक्रोबस चालक गोपाल पौडेलको अनुभव छ । ‘डिजेल गाडीमा गियर हानिरहनुपर्थ्यो, यसमा पर्दैन,’ उहाँले भन्नुभयो, ‘विद्युतीय सवारी चलाउन निकै सजिलो छ, न आवाज आउँछ न त धूवाँ नै फ्याँक्छ ।’ २५ वर्षदेखि सवारी चलाउँदै आउनु भएका पौडेलले विद्युतीय बस चलाउन थालेको तीन महिना मात्र भयो । बर्दिबासमा फुल चार्ज गरेर निस्कनु भएका उहाँ नेपाल थोकमा आएर पुनः चार्ज गर्नुहुन्छ । त्यसपछि काठमाडौंमा यात्रु झारेर पुनः नेपाल थोक पुगेर चार्ज गर्नुहुन्छ । सिन्धुली र खुर्कोटमा सरकारी चार्जिङ स्टेसन छन् भने बर्दिबासमा निजी चार्जिङ स्टेसन छ । सरकारी चार्जिङ स्टेसनमा प्रतियुनिट १० रुपैयाँ र निजीमा १५ रुपैयाँ शुल्क रहेको उहाँले जानकारी दिनुभयो।

पाँच महिनादेखि काठमाडौं–जनकपुर चल्ने सुन्दरका गाडी तिहारयता भने चल्न सकेका छैनन् । चालकहरू बिदामा रहेकाले गाडी नचलाइएको कम्पनीले जनाएको छ । सुन्दरका अध्यक्ष भेष थापाका अनुसार धुम्बाराहीमा फुल चार्ज गरेर निस्किएको बस नेपालथोक पुग्छ । त्यहाँ २० प्रतिशत चार्ज गरेर ढल्केबर पुगिन्छ । ढल्केबरमा २५ प्रतिशत चार्ज गरेर जनकपुर पुग्छ । फर्कंदा जनकपुरमा फुल चार्ज गरेर हिँडेपछि नेपालथोकमै आएर १५ प्रतिशत चार्ज गरेपछि धुम्बाराही आइपुगिने उहाँले बताउनुभयो।

बुटवल–रूपन्देही आन्तरिक रुटमा समेत सुन्दरका ४ वटा बस सञ्चालनमा छन् । काठमाडौंदेखि चितवन, बर्दिबास, सिन्धुली, जनकपुर, चरिकोटमा विद्युतीय सवारी सञ्चालनमा भइरहेको दिगोका सिनियर सेल्स अफिसर विजय पनेरुले बताउनुभयो। ‘नेपालगन्ज र महेन्द्रनगरभित्र पनि सवारी चल्छ,’ उहाँले भन्नुभयो, ‘पोखराका लागि समेत बुकिङ आइसकेको छ । तर हामीसँग अहिले गाडी नै छैन ।’ उहाँका अनुसार काठमाडौँ–चितवन एउटा, काठमाडौँदेखि बर्दिबास, सिन्धुली, जनकपुर रुटमा ५० भन्दा बढी, नेपालगन्ज–बर्दिया रुटमा ५, महेन्द्रनगर–सुर्खेत रुटमा २ र काठमाडौँ–चरिकोट रुटमा २ वटा विद्युतीय गाडी सञ्चालनमा छन् ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–५ स्थित बीपी राजमार्गछेउमै चार्जिङ स्टेसन सञ्चालन गरिरहेका रामहरि पौडेल प्रतिदिन ३० वटा गाडी चार्ज हुने बताउनुहुन्छ । स्टेसनमा एक पटकमा ६ वटासम्म गाडी चार्ज गर्न सकिन्छ । बत्तीको विकल्पमा जेनेरेटर पनि जडान गरिएको छ । उक्त रुटमा ७० वटाभन्दा धेरै विद्युतीय गाडी चल्ने उहाँको आँकलन छ ।

प्राधिकरणले बिजुलीका लागि चार्जिङ स्टेसननजिकै ट्रान्सफर्मरलगायत संरचना राखिदिएर सहयोग गरेको उहाँले बताउनुभयो । लामो दूरीमा चार्जिङ स्टेसन सीमित भए पनि कतिपय स्थानमा ‘होम चार्जर’ को सुविधा रहेको चालकहरू सुनाउँछन् । सुन्दरका काठमाडौं–जनकपुर रुटका चालक राजकुमार नेपालीका अनुसार विद्युतीय बसमा फ्युज जानेलगायत समस्या कहिलेकाहीँ देखिन्छ । ‘समस्या आए कम्पनीमा फोन गरेपछि इन्जिनियरसँग सम्पर्क गराइदिन्छन् । त्यसपछि उनीहरूले भनेअनुसार नै मर्मत गर्छौं,’ उहाँले भन्नुभयो, ‘त्योभन्दा ठूला समस्या देखिएका छैनन् ।’ पेट्रोल, डिजेल गाडीको जस्तो जुनसुकै ठाउँमा वर्कसप नभए पनि कम्पनीमार्फत नै मर्मत हुने उहाँले बताउनुभयो।

सरकारले विद्युतीय सवारी आयातमा सय किलोवाटसम्मका लागि अन्तःशुल्क छुट दिएको छ । सय किलोवाटसम्मको विद्युतीय सवारी आयात गर्दा १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट मात्रै तिर्नुपर्छ । सरकारले बजेटमा विद्युतीय सवारीमा १ सय २० प्रतिशतसम्म कर लाग्ने व्यवस्था गरेको छ । जसअनुसार पिकआवर १ सयदेखि २ सय किलोवाटसम्मका विद्युतीय सवारीसाधनमा ३०, २ सयदेखि ३ सय किलोवाटसम्ममा ४५ र ३ सय किलोवाटभन्दा बढी पिकआवर भएकामा ६० प्रतिशत अन्तःशुल्क तोकिएको छ । ती सवारीमा त्यति नै दरमा भन्सार महसुल पनि लगाइएको छ । यसअघि विद्युतीय सवारीमा अन्तःशुल्क थिएन । पिकपावर १०० किलोवाटदेखि २०० सम्मको विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार महसुल थियो । यस्तै, २०० देखि ३०० किलोवाटमा ३० प्रतिशत, ३०० किलोवाटभन्दा माथिका विद्युतीय सवारीमा ४० प्रतिशत भन्सार दर थियो ।