आन्तरिक बजार प्रवद्र्धन गर्न हस्तकला मेला
2022-11-06 16:21:24cri
Share with:

हस्तकलाका सामानको आन्तरिक बजार प्रवद्र्धन गर्ने उद्देश्यसहित महिला उद्यमी हस्तकला मेला सुरु भएको छ। बागमती प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा शुक्रबारदेखि काठमाडौँको वसन्तपुरमा मेला सुरु भएको गोरखापत्र अनलाइनले लेखेको छ। 

‘नेपाली उत्पादन र नेपालको पहिचान’ अवधारणाअन्तर्गत सो मेला सुरु भएको हो। मेलाको उद्घाटन गर्दै बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले हस्तकला व्यवसाय प्रवद्र्धन गर्न बागमती प्रदेशका १३ जिल्लामा हस्तकला ग्राम स्थापना गर्न लागिएको बताउनुभयो। 

हस्तकलाको उद्यमशीलता विकास गर्न मन्त्रालयले तालिमका कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिँदै उहाँले हस्तकलाका उत्पादन अन्तर्राष्ट्रिय बजारमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनुभयो। 

सो अवसरमा व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका प्रमुख शरदविक्रम राणाले हस्तकलाको क्षेत्रबाट मुलुकमा रोजगारी सिर्जना गर्न सकिने हुँदा यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। 

हस्तकला क्षेत्रमा महिलाको सहभागिता धेरै रहेकाले व्यवसाय दीर्घकालीन हुने बताउँदै उहाँले हस्तकलाका सामान बनाउन समयसमयमा तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। 

नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्डमान शाक्यले महिला उद्यमीले उत्पादन गरेको हस्तकलाका सामानको आन्तरिक बजार प्रवद्र्धन र प्रचारप्रसार गर्ने मेला आयोजना गरिएको जानकारी दिनुभयो। हस्तकला व्यवसायमा संलग्न महिला उद्यमीलाई प्रोत्साहन र बजारीकरण गर्न मेलाले सहयोग पुग्ने उहाँको भनाइ छ। 

हस्तकला व्यवसायमा आठ लाख व्यक्ति आबद्ध रहेको जानकारी दिँदै शाक्यले यस क्षेत्रमा थप रोजगारी सिर्जना गर्न सकिने पर्याप्त सम्भावना रहेकाले सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो। मेलामा हस्तकलाका सामान, ऊनी, पस्मिना, सुतीजन्य, प्राकृतिक रेसाजन्य, काष्ठकला, हातेकागजलगायतका सामान राखिएको छ। 

महिला उद्यमीले उत्पादन गरेका सामान प्रदर्शनीमा राखिएको छ। आगामी आइतबारसम्म चल्ने मेलामा विभिन्न ४० वटा स्टल राखिएको छ। हस्तकलाका सामान विभिन्न देशमा निर्यात हुने गर्छ। अन्तर्राष्ट्रिय बजारमा हस्तकलाका सामानको माग बढ्दै गएको व्यवसायीको भनाइ छ।