चितवन निकुञ्जमा पर्यटक बढे
2022-11-06 16:18:58cri
Share with:

वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तब्य चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्यामा सुधार हुन थालेपछि व्यवसायी उत्साहित छन् । यो आर्थिक वर्ष सुरु भएयता साउन, भदौ र असोज तीन महिनामा ३५ हजार ४ सय ४५ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनु भएको कान्तिपुर अनलाइनले लेखेको छ ।

गत आर्थिक वर्ष यो अवधिमा जम्मा १० हजार ७ सय १८ जनाले निकुञ्ज घुमेका थिए । यो वर्ष विदेशी पर्यटकको संख्यमा पनि सुधार देखिएको छ । निकुञ्जबाट प्राप्त विवरण अनुसार गत तीन महिनामा भारतीय र अन्य विदेशीसमेत गरेर कुल नौ हजार ८४९ जनाले निकुञ्ज घुमेका छन् । अघिल्लो वर्ष तीन महिनामा ५२१ जना विदेशीले निकुञ्ज भ्रमण गरेका थिए ।

कोरोना कहर सामान्य हुँदै गर्दा निकुञ्जमा विदेशी पर्यटकको आउजाउ बढेको यो विवरणले देखाउँछ । असोजयता पनि पर्यटकको संख्या बढेको सौराहा आडको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितेन्द्र तमाङले बताउनुभयो । पर्व र विदाका कारण कात्तिक १३ आइतबार एकै दिन १५ सय जनाले सामुदायिक वन घुमेको अध्यक्ष तमाङले बताउनुभयो। यसअघि असोज १८ मा एकै दिन हजार जना आएका थिए ।

निकुञ्ज आडमा भएका कारण यो वनमा हात्ती चढेर डुल्दा गैंडा, चित्तलको बथान लगायतका वन्यजन्तु देख्न पाइन्छ । यो वन र निकुञ्जबीच भएर बग्ने बुढीराप्ती खोलामा डुंगा सयर गर्दा दुर्लभ घडियाल गोही र अनेकौं चराहरू देखा पर्दछन् । सामान्य अवस्थामा यो वनमा हात्ती र डुंगा चढ्न दिनमा औसत तीन सयको हाराहारीमा पर्यटक आउँछन् ।

‘घुम्न आउनेको सख्या पर्वमा र बिदामा बढ्छ, अरु बेला सामान्य रहन्छ’ तमाङले भन्नुभयो । संख्यामा बिस्तारै सुधार आए पनि पर्यटन व्यवसाय कोरोना कालभन्दा अघिको अवस्थामा अझै नफर्केको उहाँले सुनाउनुभयो । क्षेत्रीय होटल संघ सौराहाका कोषाध्यक्ष रहेका होटल सेभेनका सञ्चालक माधव दुवाडीले पनि स्वदेशी पर्यटकको संख्यामा राम्रो सुधार भए पनि विदेशीको संख्या फाट्टफुट्ट देखिएको बताउनुभयो ।

‘पर्यटन क्षेत्रको अवस्था सुधारोन्मुख छ । तर सन्तोषजनक अझै छैन । यो बेला भारतीयहरू राम्रो संख्यामा आउनुपर्ने हो । तर दसैंका बेलामा भारी बर्खा भयो । भारतीयहरू सुनौली हुँदै आउने बुटवल नारायणगढ सडकको दुरवस्थाले पनि असर गरेको छ’ कोषाध्यक्ष दुवाडीले भन्नुभयो। सौराहाको पार्क सफारी रिसोर्टका सञ्चालक रहेका महेश खनालले पर्यटकको संख्या बढ्न थालेको हुँदा व्यवसायीले राहत अनुभव गरेको बताउनुभयो।

‘कोरोना सुरु भएपछिका दुई वर्ष हाम्रा लागि निकै कष्टकर रहयो । महिनौं होटल सुनसान रहे । अहिले संख्या बढेको छ । युरोपियनहरू पनि आउन थालेका छन् । यो सुखद अवस्था हो,’ पर्यटन व्यवसायी खनालले भन्नुभयो। अघिल्ला वर्षमा असोजपछि पर्यटकको संख्या बढ्दै जाने गर्दथ्यो । यो वर्ष पनि बढ्दै जाने व्यवसायी बताउँछन् । निकुञ्ज आएका पर्यटक दुर्लभ वन्यजन्तु बाघ, गैंडा, र अन्य जिव जनावर हेर्न रुचाउँछन् ।

विदेशी पर्यटकलाई निकुञ्ज आडमा बस्ने चितवनका आदिवासी थारु, दराई, बोटे, कुमाल समुदायको संस्कार संस्कृतिले पनि आकर्षित गर्दछ । ‘सौराहामा एकै खाले गतिविधि मात्रै हैन अन्य गतिविधि पनि थपिएका छन् भन्ने सन्देश पर्यटक माझ पुर्‍याउनु छ’ खनालले भन्नुभयो।