काठमाडौँको चोभारमा १३२ केभीको सबस्टेसन निर्माण गरिने
2022-11-07 15:56:25CRI
Share with:

काठमाडौँको कीर्तिपुर नगरपालिका–६, चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा सहमति जुटेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।  नेपाल विद्युत् प्राधिकरणले विगतमा हिमाल सिमेन्ट उद्योग रहेको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२/११ केभीको सबस्टेसन निर्माण गर्न लागेकामा स्थानीय बासिन्दाले विरोध गर्दै आएका थिए । खेल मैदानका रूपमा प्रयोग हुँदै आएको भन्दै स्थानीयवासीले सबस्टेसन निर्माणमा अवरोध गर्दै आएका थिए । 

आइतबार कीर्तिपुर नगरपालिका प्रमुख, उपप्रमुख, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वडाध्यक्ष, जलविनायक सामुदायिक वन उपभोक्ता समिति र स्थानीय प्रतिनिधि सम्मिलित संयुक्त बैठकले सबस्टेसन निर्माणलाई अगाडि बढाउने निर्णय गरेको गोरखापत्र अनलाइनमा खबर छ।

चोभारस्थित सुक्खा बन्दरगाहको प्रवेशद्वारबाट सुरु हुने करिब दुई किलोमिटर ११ केभी लाइन स्थानीयवासीको मागबमोजिम भूमिगत गर्न प्राधिकरण सहमत भएको छ। प्राधिकरणले स्थानीयवासीले उठाएको मागलाई सम्बोधन गर्ने र त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने सहमति भएको छ। मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको बैठकले हिमाल सिमेन्ट उद्योगको स्वामित्वमा रहेको जग्गा सबस्टेसन निर्माणका लागि प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो। 

प्राधिकरणले सबस्टेसन निर्माण तत्काल अगाडि बढाउने जनाएको छ। विद्युत् आपूर्तिको अत्यावश्यकलाई ध्यान दिएर सबस्टेसन निर्माणमा अवरोध नगर्ने र यसका लागि सम्बन्धित वडाले आवश्यक सहयोग गर्ने बैठकबाट निर्णय भएको प्राधिकरणले जनाएको छ। सबस्टेसनमा ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहनेछन्।