श्वेतचैत्य स्थापनाको ७५०औं वार्षिकोत्सवमा साताव्यापी प्रदर्शनी
2022-11-08 15:36:46CRI
Share with:

 

‘चीन र नेपालको सांस्कृतिक सम्पदालाई एकसाथ अगाडि बढाऔँ’भन्ने नारासहित सोमबार बेइजिङस्थित नेपालका राष्ट्रिय विभूति अरनिकोद्वारा निर्मित श्वेतचैत्य (पाइ था स) मा चीन-नेपाल सांस्कृतिक सम्पदा प्रदर्शनी सोमबारदेखि सुरु भएको छ। श्वेतचैत्य स्थापनाको ७५०औँ वार्षिकोत्सवका अवसरमा चीन तथा नेपालको सांस्कृतिक सम्पदा र दुई देशको मित्रताको प्रवर्द्धन गर्ने उद्देश्यले बेइजिङ श्वेतचैत्य सांस्कृतिक सप्ताह आयोजना गरिएको हो। साताव्यापी गरिने यस प्रदर्शनीमा उक्त श्वेतचैत्य मन्दिरपरिसरमा नेपाली कला तथा सांस्कृतिक सम्पदाहरूका स्टल राखिएका छन्। साथै नेपालको पर्यटन प्रवर्द्धनको उद्देश्यसहित नेपालको पर्यटन गन्तव्यका मनमोहक तस्बिर पनि सजाइएका छन्। यसबाहेक प्रदर्शनीको विशेष आकर्षण प्रत्यक्ष रूपमा कलाकारको काष्ठ कुँदाइ, चित्र कोराइ तथा विभिन्न शिल्पमा लागिरहेका दृश्य हुन्।

चीनका लागि नेपाली दूतावासका इकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीले यस्तो जीवन्त दृश्य देखेर पुलकित भएको बताउनुभयो। कोभिड महामारीका कारण आवतजावत सहज नभएको अवस्थामा चीनमा अध्ययनरत विद्यार्थीले नै प्रत्यक्ष रूपमा आफ्नो सीप देखाइरहेको पनि इकोनोमिक मिनिस्टर पराजुलीले बताउनुभयो। गत अक्टुबरमा आयोजना गरिने भनिएको यस प्रदर्शनी नोभेम्बर ७ देखि १३ सम्म आयोजना भइरहेको हिमालप्रेस अनलाइनले जनाएको छ। 

उद्घाटनको दिन श्वेतचैत्य व्यवस्थापन समिति बेइजिङ र ललितपुरको पाटन दरबार संग्रहालयबीच एक समझदारी (एमओयू) मा हस्ताक्षर पनि भएको छ। दुई संस्थाबीच सांस्कृतिक आदानप्रदान गर्ने हेतुले भएको उक्त एमओयूमा चिनियाँतर्फबाट श्वेतचैत्य व्यवस्थापन समितिका निर्देशक वाङ छिनलिङले गर्नुभयो।  

पाटन दरबार संग्रहालयको प्रतिनिधित्व गर्दै विगत तीस वर्षदेखि बेइजिङमा बस्दैआएका दूरसञ्चार प्रविधि इन्जिनियर राकेश ताम्राकारले उक्त एमओयूमा हस्ताक्षर गर्नुभयो। उहाँले प्रत्यक्ष रूपमा कलाकारिता देख्न पाउँदा आफ्नो जन्मथलो पाटन पुगेको आभास भएको बताउनुभयो। चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले भिडियोमार्फत मन्तव्य राख्दै प्रदर्शनी सफलताको शुभकामना दिनुभयो।

आफ्नो मन्तव्यमा उहाँले यस किसिमको प्रदर्शनीले श्वेतचैत्य र नेपाली संस्कृतिको मात्र नभई दुई देश बीचको प्राचीन कालदेखिको सम्बन्धलाई उजागर गर्ने तथा चिनियाँ पर्यटकका साथै नेपाली संस्कृतिमा रुचि राख्नेलाई सहयोग पुग्ने र दुई देश बीचका आमजनता बीचको सम्बन्धलाई थप कसिलो बनाउने बताउनुभयो।

कार्यक्रममा आयोजकका पक्षबाट बेइजिङ नगरपालिका सिछङ जिल्ला, बेइजिङ नगरपालिका सांस्कृतिक सम्पदा ब्युरो, चिनियाँ कम्युनिस्ट पार्टी बेइजिङ नगर कमिटी प्रचार विभाग, चीनको राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनका प्रतिधिनिहरूले पनि नेपाल चीन सम्बन्ध तथा सांस्कृतिक पक्ष र अरनिको तथा उनका श्वेतचैत्य तथा अरू वास्तुकलाका बारेमा चर्चा गरेका थिए।

 

नेपाली नृत्यबाट सुरु भएको कार्यक्रममा नेपाली कलाशैलीसँग सम्बन्धित भिडियो पनि प्रदर्शनी गरिएको थियो। इतिहासविद्का अनुसार, अरनिको अर्थात् बलबाहु राजा अभय मल्लको पालामा सन् १२४५ मा ललितपुरमा जन्मेका थिए र उनको मृत्यु सन् १३०६ मा बेइजिङमा भएको थियो। उनी राजा जय भीमदेव मल्लको पालामा ८० जना वास्तुकलाकारको नेतृत्व गर्दै चीन आएका थिए। उनले तिब्बत, बेइजिङ तथा वल्लो सान्सीमा विशाल तथा आकर्षक चैत्यहरूको निर्माण गरेका थिए।

वास्तुकलाबाहेक उनी काष्ठकला, चित्रकला लगायतका विविध कलामा निपुण थिए। साथै उनी इन्जिनियरिङ विधामा समेत पोख्त रहेको चिनियाँ इतिहासमा उल्लेख छ।