पहिलो पटक नेपाली प्लाइउड विदेश निर्यात
2022-11-09 16:12:11CRI
Share with:

बाँकेबाट पहिलो पटक भारततर्फ प्लाइउड निर्यात भएको छ । यसअघि भारतबाट तयारी प्लाइउड र कच्चा पदार्थ ल्याउने गरिएकोमा यस क्षेत्रबाट पहिलो पटक प्लाइउड भारत निर्यात गरिएको हो। नेपालगञ्ज औद्योगिक क्षेत्रमा सञ्चालित शिखर प्लाइउडले २८ टन प्लाइउड पहिलो चरणमा भारत पठाएर निर्यात सुरु गरेको हो। 

यसअघि भारतबाट प्लाइउडका तयारी र कच्चा पदार्थ ल्याउँदै आएकोमा पहिलो पटक यस क्षेत्रबाट भारत निर्यात भएको उद्योगका प्रबन्ध निर्देशक चम्पालाल बोथराले जानकारी दिनुभयो। प्लाइउडका कच्चा पदार्थ बाँकेमै उत्पादन हुन थालेपछि भारतबाट आउने करोडौँको कच्चा पदार्थ र तयारी सामानका लागि बाहिरिने रकम रोकिएको बोथराले जानकारी दिनुभयो। यससँगै नेपालबाट प्लाइउड निर्यात हुन सक्ने सम्भावनाले ठोस नतिजा प्राप्त गरेको उहाँको भनाइ छ। 

कच्चा पदार्थको पूर्ति गर्न कम्पनी आफैँले तीन लाख इकुलिप्टिस र पोपलर (लहरे पिपल) का बिरुवा लगाएको छ । त्यही देखेर स्थानीय किसानले दुई करोड बिरुवा लगाएको उहाँले बताउनुभयो। कच्चा पदार्थमा आत्मनिर्भर हुँदै गएपछि बाँकेबाट तयारी प्लाई भारत पठाउन सकिएको शिखर प्लाइउडले जनाएको छ। भारतमा प्लाइउड पठाउन थालेपछि किसान थप उत्साहित भएका छन्। पछिल्लो समय यस क्षेत्रमा इकुलिप्टिस र पोपलरका बिरुवा लगाउने किसानहरू बढ्दै गएका छन्।

सरकारले चालू बजेटमार्फत स्वदेशी उत्पादनलाई निर्यातका लागि प्रोत्साहन गर्ने नीति लिएका कारण पनि निर्यात सम्भव भएको कम्पनीले जनाएको छ । सरकारले निर्यातको करिब ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेकाले निर्यातको अवस्था सिर्जना भएको उद्योगी बताउँछन्। गोरखापत्र।