नेपालको वैदेशिक व्यापारमा उच्च गिरावट, भारतसँग सवा २ खर्ब र चीनसँग ५६ अर्ब व्यापार घाटा
2022-11-10 15:58:44CRI
Share with:

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापारमा उल्लेख्य गिरावट आएको छ। भन्सार विभागका अनुसार असोजसम्ममा वैदेशिक व्यापारमा १८.५४ प्रतिशतले कमी आएको छ। सरकारले मुख्य आयातजन्य वस्तुमा प्रतिबन्ध लगाएसँगै कुल आयात घटेको छ भने यसले व्यापार घाटामा पनि कमी आएको छ। वैदेशिक व्यापारमा नगण्य हिस्सा रहेको निकासी व्यापारमा समेत कमी आउँदा सबै सूचकांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऋणात्मक बनेका छन्।

विभागका अनुसार आयात तथा निर्यातको योगफल अर्थात् कुल वैदेशिक व्यापार अघिल्लो आवमा ५ खर्ब ४३ अर्ब ५७ करोड रहेकोमा चालू आवको असोजसम्ममा ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ। वैदेशिक व्यापारमा निकासीको हिस्सा अघिल्लो वर्ष ११.९७ प्रतिशत रहेकोमा चालू वर्षमा घटेर ९.४४ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८८.०३ प्रतिशतबाट बढेर ९०.५६ प्रतिशत पुगेको तथ्यांक छ। 

असोजसम्म निकासी व्यापार झन्डै ३६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको असोजसम्ममा ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँ बराबरको निकासी भएकोमा चालू आवको सोही अवधिमा भने यसमा ३५.७१ प्रतिशतले गिरावट आई ४१ अर्ब ८२ करोड १ लाख रुपैयाँमा सीमित भएको छ । निर्यातसँगै आयातमा पनि कमी आएको छ । सरकारले मुख्य वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा आयातमा १६.२० प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार असोजसम्म ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँको वस्तु आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको आयात भएको थियो । 

विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार आयात र निर्यात दुवैमा कमी आएसँगै व्यापार घाटामा पनि कमी आएको छ । असोजसम्म ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको र यो घाटा अघिल्लो आवको तुलनामा १३.१३ प्रतिशतले कम रहेको विभागको तथ्यांक रहेको उहाँको भनाइ छ। अघिल्लो आवको सोही अवधिमा व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ थियो। 

नेपालको मुख्य निर्यातयोग्य वस्तुका रुपमा रहेको भटमासको तेल ३ अर्ब १६ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ भने पाम आयलको निकासी भने ८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। यस्तै, सनफ्लावर आयलको निकासी १५ करोड ६३ लाख रुपैयाँमा सीमित छ। भारतले वनस्पति तेलमा कर घटाएसँगै नेपालको निकासी व्यापार घटेको हो। आयाततर्फ भारतबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ भित्रिएको छ । तीन महिनामा १८ अर्ब २२ करोड रुपैयाँको पेट्रोल, २९ अर्ब २९ करोडको डिजेल, १४ अर्ब ९४ करोडको एलपी ग्यास आयात भएको छ। 

कारोबार अनलाइनका अनुसार भारतसँग सवा २ खर्ब र चीनसँग ५६ अर्ब व्यापार घाटा छ। भारतसँगको व्यापार घाटा २ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । यो अवधिमा भारततर्फ २८ अर्ब ९७ करोड रुपैयाँको वस्तु निकासी गरी २ खर्ब ४४ अर्ब ७७ करोड रुपैयाँ बराबरको सामग्री नेपालले भित्र्याएको छ । 

यस्तै, उत्तरी छिमेकी चीनसँगको व्यापार घाटा ५५ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। चीनबाट ५६ अर्ब ४ करोडमा सामग्री भित्रिएका छन् भने निर्यात १६ करोड ४२ लाखमा सीमित छ। चीनतर्फका तातोपानी र रसुवागढी नाकाबाट निर्यात शून्य रहेको विभागको तथ्यांकमा उल्लेख छ।