पश्चिम नेपालको बागलुङमा झोलुंगे पुलको संख्या बढ्दै
2022-11-10 16:16:42CRI
Share with:

झोलुंगे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुंगे पुल थपिएका छन्। बागलुङबाट छिमेकी दुई जिल्लामा पुनः दुई लामा झोलुंगे पुल थपिँदैछन्। बागलुङ र पर्वत जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो नेपालकै लामो झोलुंगे पुल निर्माण सम्पन्न भएको दुई वर्षभित्रै पुनः बागलुङ र पर्वत जोड्ने तथा  बागलुङ र म्याग्दी जोड्ने दुई पुल निर्माण भइरहेका छन्। 

बागलुङ र पर्वत जोड्ने अर्को पाँच सय २४ मिटर लामो पुल निर्माण सुरु भएको छ भने बागलुङ र म्याग्दी जोड्ने गरी निर्माण भएको तीन सय ८८ मिटर लामो पुल निर्माणको अन्तिम चरणमा रहेको छ। बागलुङ नगरपालिका-१ रामरेखादेखि कालीगण्डकी माथि पर्वतको कुस्मा नगरपालिका-१ अदुवाबारी जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो पुल नेपालकै लामो भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले जनाएको छ। उक्त पुल ११ करोड लागतमा निर्माण सम्पन्न भएको छ। 

बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झुलुंगे पुल थपिएको एक वर्षमा नै बागलुङ-४ कुडुँले फेदीबाट म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौर जोड्ने गरी तीन सय ८८ मिटर लामो पुल निर्माण सुरु भएको हो। उक्त पुलको अहिले ८० प्रतिशत काम सकिएको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिनुभयो। यस्तै सोही कम्पनीले भदौबाट बागलुङ-४ उपल्लाचौरदेखि पर्वतको जलजला गाउँपालिका-८ ओडारे जोड्ने गरी कालीगण्डकी नदीमा अर्को पाँच सय २४ मिटर लामो पुल निर्माण सुरु भएको हिमालप्रेस अनलाइनमा खबर छ। 

बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुंगे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ। संघीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले म्याग्दीको बेनी-१ रत्नेचौरदेखि बागलुङ-४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण डेढ वर्षअघि सुरु गरेको थियो। निर्माण कम्पनीका अनुसार पुलको निर्माण अन्तिम चरणमा पुगेको छ। 

'नेपालकै लामो पुलसमेत हाम्रै निर्माण कम्पनी थानी/बिएलटी/हिमशिखरलेनै निर्माण सम्पन्न गरेको थियो, त्यसपछि लगत्तै सुरु गरेको कुडुँले रत्नेचौरको झोलुंगेपुलको काम अहिले लगभग सकिनै लागेको छ,  पुनः बागलुङ बजारको उपल्लाचौरदेखि पर्वतको जलजला जोड्ने गरी पाँच सय २४ मिटर लामो झोलुंगे पुल सृजिता, थानी हिमशिखर कम्पनीले निर्माण गर्न सुरु गरेको छ', लामा झोलुंगेपुलका निर्माण व्यवसायी नरहरि खड्काले भन्नुभयो, 'बागलुङ र पर्वत जोड्ने दुई तथा बागलुङ र म्याग्दी जोड्ने एक पुल चार वर्षको अवधिमा निर्माण हुने भएका छन्, त्यसमध्ये नेपालकै लामो पुल दुई वर्षअघि सम्पन्न भइसकेको छ।' 

एक सय ७० मिटर अग्लो कुडुले रत्नेचौर जोड्ने झोलुंगे पुलले दुई जिल्लाको यात्रालाई सहज बनाउँदै पर्यटन विकासमा टेवा पुर्‍याउनेछ। 

करोडौँ लागतका लामा झोलुंगे पुल धमाधम निर्माण हुँदा बागलुङ र बागलुङसँग जोडिएको छिमेकी जिल्ला पर्वत र म्याग्दीकोसमेत पर्यटनसँगै व्यापार व्यवसाय फस्टाउने स्थानीय गणेश पुरीले बताउनुभयो। चार वर्षको अवधिमा बागलुङबाट पर्वत जोड्ने दुई र म्याग्दी जोड्ने एक पुल २१ करोड रुपैयाँ खर्चमा निर्माण हुनेछन्।