मुलुककै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा पर्यटक बढ्दै, पर्यटन पूर्वाधारमा लगानी बढाउन माग
2022-11-12 16:07:12CRI
Share with:

मुलुककै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवनको सौराहामा अहिले पर्यटक आगमन बढेको छ। आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढेसँगै यहाँका होटल र पर्यटन व्यवसायमा चहलपहल बढेको छ। “नेपालीमा पनि घुमफिर गर्ने बानी विकास भएको छ। अहिले सौराहा आउने नेपालीबाहेक भारतीय, चिनियाँ र युरोपेली पर्यटक छन्। आन्तरिक र बाह्य पर्यटकको आगमन बढेकाले चहलपहल पनि बढेको छ,” क्षेत्रीय होटल सङ्घ, सौराहाका संस्थापक अध्यक्ष गिरिधारी चौधरीले भन्नुभयो।  

केही समयअघिसम्म १० प्रतिशत अकुपेन्सीमा झरेको सौराहासहितको चितवनका होटलको अकुपेन्सी अहिले ६० प्रतिशतभन्दा बढी भएको व्यवसायी बताउँछन्। सौराहासहित चितवनमा १५० पर्यटकीय होटल र तिनमा सात हजार पाँच सय शय्या छन्। चितवनले हात्ती सफारी गरी गैँडा, बाघजस्ता जङ्गली जनावर अवलोकनका लागि ख्याति कमाएको छ। पछिल्लो समय जिप सफारी पनि निकुञ्जमा छ। नारायणी, राप्तीलगायतका नदीमा डुङ्गा सयर, थारू सङ्ग्रहालय र सांस्कृतिक कार्यक्रमले पनि चितवनको सौराहामा पर्यटक तानिरहेको छ। धार्मिक क्षेत्र देवघाट, सूर्योदयका लागि सिराइचुली, सूर्यास्तको दृश्य हेर्न मेघौली, ऐतिहासिक किल्ला उपरदाङगढी र लामो झरना पनि चितवनमै पर्छ। चितवन राष्ट्रिय निकुञ्ज यहाँको मुख्य पर्यटकीय आकर्षण हो। यसमा वार्षिक डेढ लाखको हाराहारीमा पर्यटक आउने गरेका छन्। थप पर्यटकलाई चितवनले आकर्षित गर्न पूर्वाधार विकाससँगै सुविधा सम्पन्न होटलको समेत वृद्धि गरी गुणस्तर सुधारमा लाग्नुपर्ने आवश्यक रहेको पर्यटन व्यवसायीको भनाइ छ। गोरखापत्र अनलाइनका अनुसार आर्थिक विकासको मेरुदण्ड मानिने पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार विकास हुन सकेको छैन।

मुख्य पर्यटकीय गन्तव्य भए पनि चितवनको पर्यटन विकासका लागि अहिलेसम्म ठोस योजना नआएको व्यवसायीको गुनासो छ। सौराहाका पर्यटन व्यवसायी सुमन घिमिरे देशैभरका जीर्ण सडक मर्मत सुधार हुन नसक्दा पनि पर्यटकको आगमनमा सम्भावना र अपेक्षाअनुसार वृद्धि हुन नसकेको गुनासो गर्नुभयो। अहिले चितवन आउने मेघौली विमानस्थल बन्द रहेको र भरतपुर विमानस्थलमा पनि सीमित उडान हुने गरेको छ। काठमाडौँ–मुग्लिन सडक, पोखरा–मुग्लिन सडक, नारायणगढ–मुग्लिन सडकमा पनि समस्या रहेको उहाँले बताउनुभयो। 

क्षेत्रीय होटल सङ्घ, सौराहाका महासचिव गुणराज थपलियाले अहिले सौराहा छिर्ने बाटो नै धुलैधुलो भएको बताउनुभयो। “हेर्नुस् त सौराहा छिर्ने नाकामै चित्रसारीदेखि सौराहासम्मको बाटोको हालत। बाटो बिग्रिएर धुलैधुलो छ,” उहाँले भन्नुभयो। 

यसैबीच चितवन घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउन चितवन राष्ट्रिय निकुञ्जको प्रवेशाज्ञा अवधि बढाउनुपर्ने माग यहाँका पर्यटन व्यवसायीले धेरै अघिदेखि उठाउँदै आए पनि अहिलसम्म पूरा हुन सकेको छैन। निकुञ्ज घुम्न आउने पर्यटकको प्रवेशाज्ञा एक दिनबाट बढाएर तीन दिन बनाउनुपर्ने महासचिव थपलियाले बताउनुभयो।

निकुञ्जले अहिले विदेशीलाई दुई हजार रुपियाँ, भारतीय नागरिकलाई एक हजार रुपियाँ र नेपालीलाई १५० रुपियाँ शुल्क लिएर प्रवेशाज्ञा दिन्छ। यो प्रवेशाज्ञाको अवधि एक दिनको मात्रै हो ।

निकुञ्जमा पर्यटक हात्ती सफारी, डुङ्गा सफारी, जङ्गल सफारी जङ्गल वाक गर्न आउँछन्। यसरी आउने पर्यटकको औसत बसाइ २.४ दिन र खर्च १५० डलर भएकामा निकुञ्जको प्रवेशाज्ञा अवधि बढाउन सकिए यसलाई पनि पर्यटन आय पनि बढाउन सकिने तर्क दाबी गरिएको छ।

अहिले मुलुक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएको छ। यो चुनावका उम्मेदवारको पहिलो प्राथमिकतामा चितवनको पर्यटकीय पूर्वाधार विकासमा हुनुपर्ने यहाँका पर्यटन व्यवसायीको अपेक्षा छ। राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष तथा नेपाली कांग्रेसका तर्फबाट चितवन १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. विश्वनाथ पौडेलले पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणमा आफ्नो स्पष्ट खाका रहेको बताउनुभयो। 

“म उपाध्यक्ष हँुदा नै चित्रसारीमा चार लेनको पुल बनाउन बजेट छुट्याइएको छ। चित्रसारीदेखि सौराहासम्म चार लेनको सडक, सौराहाबाट कठारसम्म साइकल लेनसहितको चौडा सडक बनाउने कार्यक्रम परिसकेको छ,” डा. पौडेलले भन्नुभयो। चुनाव प्रसारकै क्रममा सौराहामा भेटिनुभएका डा. पौडेलले सौराहामा सहरी विकास योजना नै पारेर हरेक वर्ष १५–२० करोड रुपियाँ बजेट पार्ने लक्ष्य लिएको पनि उहाँले जनाउनुभयो। 

चितवन १ बाटै प्रतिधिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले सौराहासँगै देशैभरिका पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो। 

“काठमाडौँ झरेको एउटा पर्यटकलाई पोखरा, चितवन घुमाउने गरी प्याकेजसहितको योजना बनाउनुपर्छ। हिमाल चढ्ने पर्यटक र वन्यजन्तु अवलोकन गर्ने पर्यटक एउटै हुन् भन्ने सोचेर नै योजना बनाउन जरुरी छ,” आर्थिक समृद्धिले आन्तरिक पर्यटनलाई पनि सहयोग पुग्ने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो।