श्वेतचैत्यको ७ सय ५०औं वार्षिकोत्सव सीपीसी प्रतिवेदन कार्यान्वयनको संकेत
2022-11-12 15:37:13CRI
Share with:

चीनको राजधानी बेइजिङमा चलिरहेको श्वेतचैत्यको ७ सय ५०औं वार्षिकोत्सव सप्ताहमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औं महाधिवेशनमा प्रस्तुत प्रतिवेदन कार्यान्वयनसम्बन्धी चर्चा भएको छ। नोभेम्बर ७ देखि सुरू भएको श्वेतचैत्य सप्ताहले गत मध्य अक्टोबरमा आयोजित सीपीसीको २०औं महाधिवेशनको प्रतिवेदनलाई आत्मसात गरेको हो। अभियानलाई मूर्त रुप दिनका लागि सीपीसीका अधिकारीहरूले कार्यक्रममा भाग लिएका थिए।

गत मध्य अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनमा पार्टी महासचिव एवं राष्ट्रपति सी चिनफिङले प्रस्तुत गरेको प्रतिवेदनमा सांस्कृतिक अवशेष र सम्पदाको संरक्षणलाई सुदृढ गर्ने, सभ्यताहरूबीचको आदानप्रदान र आपसी सिकाइलाई प्रगाढ बनाउने र चिनियाँ संस्कृतिलाई विश्वमा अझ राम्रोसँग फैलाउन प्रवर्द्धन गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो। प्रतिवेदनको सोही भावनालाई पछ्याउँदै समृद्ध तथा रंगीन एसियाली सांस्कृतिक सम्पदालाई बहुआयामिक रूपमा देखाउने प्रस्थान बिन्दुको थालनी ‘२०२२ बेइजिङ श्वेतचैत्य सांस्कृतिक सप्ताह’बाट गरिएको चिनियाँ सञ्चारमाध्यहरूले उल्लेख गरेका छन्। 

श्वेतचैत्यमा जारी यस गतिविधिलाई युनेस्कोको भावना समेट्ने कोणबाट पनि चीनले अघि सारेको छ। विश्वका सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण गर्ने अभिप्रायले युनेस्कोद्वारा सन् १९७२ मा यो महासन्धि अघि सारिएको थियो। जारी सांस्कृतिक सप्ताहले युनेस्कोको पेरिस महासभा (१७ अक्टोबर-२१ नोभेम्बर) को ५०औँ वार्षिकोत्सवलाई समेत एकसाथ समेटेको श्वेतचैत्य प्रशासनले जनाएको छ।

‘यो गतिविधि राष्ट्रसंघको विश्व सांस्कृतिक तथा प्राकृतिक सम्पदा संरक्षणसम्बन्धी कन्भेन्सनको स्वर्ण महोत्सव मनाउने सिलसिलाबद्ध कार्यक्रममध्ये चीनका तर्फबाट आयोजित एउटा कार्यक्रम हो’, श्वेतचैत्यस्थित नेपाल-चीन सांस्कृतिक आदानप्रदान केन्द्रकी मिसन प्रमुख खाङ लेइले भन्नुभयो। उहाँका अनुसार ‘चीन-नेपाल सांस्कृतिक सम्पदालाई एकसाथ अगाडि बढाऔं’ भन्ने नाराले राष्ट्रसङ्घको सम्पदा संरक्षण र नेपाल-चीन सांस्कृतिक आदानप्रदान र सहकार्यको क्षेत्रलाई अघि बढाउन टेवा पुग्नेछ। 

सीपीसी प्रतिवेदन तथा राष्ट्रसङ्घको महासन्धि कार्यान्वयनलाई बल पुर्याउनका लागि सीपीसी बेइजिङ नगर कमिटी प्रचार विभागका प्रथम निरीक्षक वाङ येफेई, चीनको सांस्कृतिक सम्पदा प्रशासनका उपनिर्देशक सिए पिङ लगायत चिनियाँ अधिकारीहरूले सोमबारको उद्घाटन सत्रमा भाग लिएर मन्तव्य दिएको कान्तिपुर अनलाइनले लेखेको छ। कोभिड-१९ आइसोलेसनमा रहेका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले भने भिडियोमार्फत् मन्तव्य राख्नुभयो। चिनियाँ परराष्ट्र मन्त्रालय एसियाली विभागका उपमहानिर्देशक छन सुङले मित्रतास्वरुप चिनियाँ कालिग्राफी ब्यानर नेपाली दूतावासका इकोनोमिक मिनिस्टर छबिन्द्र पराजुली समक्ष हस्तान्तरण गर्नुभयो।

समारोहका दौरान श्वेतचैत्य व्यवस्थापन कार्यालय र पाटन सङ्ग्रहालयबीच सहकार्य सम्बन्धी समझदारी (एमओयू)मा हस्ताक्षर भयो। पाटन सङ्ग्रहालयको प्रतिनिधित्व गर्दै बेइजिङस्थित भिभोका फाइभ-जी स्ट्यान्डर्ड एक्सपर्ट राकेश ताम्राकारले एमओयूमा हस्ताक्षर गर्नुभयो।

नेपाली कलाकार अरनिको निर्मित श्वेतचैत्य परिसरमा दुबै देशका समृद्ध र उत्कृष्ट सांस्कृतिक सम्पदाहरूलाई प्रस्तुत गर्न ६ वटा विषयगत ‘थिम डे’ निश्चित गरिएको छ। साताभरि प्रदर्शनीहरू, प्राज्ञिक आदानप्रदानहरू, सांस्कृतिक मेलाहरू र सार्वजनिक अन्तर्क्रियाहरू गरी झण्डै २० वटा विषयवस्तुमा आधारित विशेष कार्यक्रमहरू चलिरहेका छन्। ७ सय ५०औं श्वेतचैत्य वार्षिकोत्सव सप्ताह १३ तारिख सम्पन्न हुनेछ।