निजी क्षेत्रको लगानीमा निर्मित माथिल्लो बलेफी ‘ए’आयोजनाबाट विद्युत् परीक्षण उत्पादन
2022-11-13 15:56:44CRI
Share with:

सिन्धुपाल्चोकको बलेफी खोला करिडोरमा निजी क्षेत्रको लगानीमा निर्मित ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ आयोजनाबाट विद्युत् परीक्षण उत्पादन सुरु भएको छ । यसै साताभित्रै व्यावसायिक उत्पादन सुरु हुने योजना रहेको बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष उमेश कसजूले बताउनुभयो।  ‘बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने काम सुरु भइसकेको छ । अब धेरै दिन लाग्दैन,’ उहाँले भन्नुभयो। 

आयोजना आफैंले प्रसारण लाइन निर्माण गरेको छ । जिल्लाको विकट क्षेत्रका रूपमा ‘पारिगाउँ’ नामबाट चिनिने गोल्चे र गुम्बाकोबीच लिदी गाउँमुनि बाँध र गोल्चे एवं पाङताङबीच स्थानीय वैकुण्ठेमा विद्युत् गृह निर्माण गरिएको छ । 

उत्पादित बिजुली १ सय ३२ केभीको प्रसारण लाइनमार्फत लामोसाँघुस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा जोडिएको छ । जिल्लामै निर्माण भएर उत्पादन सुरु गरेको २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ कै लगानीकर्ताले बलेफी बनाएका हुन् ।