गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने नेपाल वायुसेवा निगमको तयारी
2022-11-13 15:34:49CRI
Share with:

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमले उडान गर्ने तयारी गरेको छ। विदेशी वायुसेवा कम्पनीमध्ये हाल कुवेतको जजिरा एयरले मात्र उडान भर्दै आएकामा अब नेपाल एयरलाइन्सले समेत उडान थाल्ने गरी तयारी गरेको हो। विमानस्थलका अनुसार आगामी डिसेम्बर अन्तिम साताबाट उडान भर्ने गरी तयारी अगाडि बढेको गोरखापत्र अनलाइनले जनाएको छ। 

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार अब केही दिनमा नै नेपाल वायुसेवा निगमको जहाजले पनि गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्दै छ । भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा समिति गठन भएको र यसले अध्ययन गरिरहेको निगमले जनाएको छ। 

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिनाअघि व्यावसायिक सञ्चालनमा आएको हो । यस अवधिमा अपेक्षित रूपमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि थप आकर्षण पनि दिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक तीनभन्दा बढी उडान गर्ने विमान सेवा कम्पनीलाई अर्को उडान भैरहवाबाट गर्नैपर्ने बाध्यात्मक व्यवस्था नागरिक उड्डयन प्राधिकरणले गरेको छ ।

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप घटाउन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन दैनिक तीनवटा भन्दा धेरै अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीले चौथो उडान भैरहवाबाट गर्नुपर्ने प्रावधान नागरिक उड्डयन प्राधिकरणले ल्याएको दाहालले बताउनुभयो।

यही कारण नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएपछि यी दुवै विमान कम्पनीले भैरहवाबाट उडान गर्ने तयारी गरेका हुन्।

हिमालय एयरलाइन्सले भैरहवाबाट चार्टर उडान सुरु गरिसकेको छ । कात्तिक १७ गतेदेखि हिमालयले नियमित रूपमा चार्टर उडान थालेको हो । हिमालय एयरलाइन्सले हप्तामा सातै दिन उडान भर्ने योजना बनाइरहेको छ । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हालै मात्र कुवेत एयरको उडान योजना पेस भएको छ । कुवेतको राष्ट्रिय ध्वजावाहक कुवेत एयरले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार उक्त एयरले अबको एक महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको हो । 

गत सोमबार मात्रै उक्त एयरले कुवेत–नेपाल चार्टर उडान सुरु गरेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो । भैरहवाबाट हाल कुवेतकै जजिरा एयरवेजले नियमित उडान गर्दै आएको छ । कुवेत एयरको नियमित उडान सुरु भएसँगै बजार थप प्रतिस्पर्धात्मक हुने प्राधिकरणले जनाएको छ । 

डेढ महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीको सङ्ख्या आधा दर्जनभन्दा बढी पुग्ने क्यानले जनाएको छ । डिसेम्बर १६ बाटै प्राधिकरणले फ्लाई दुबई, कतार एयरवेज, एयर अरेबियालगायत वायुसेवालाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न निर्देशन दिइसकेको छ।