चिनियाँ उपमन्त्री लीद्वारा चिनियाँ सहयोगमा पुननिर्माण भएको बसन्तपुरको नौतले दरबारको अवलोकन
2022-11-14 16:40:50cri
Share with:

 नेपाल भ्रमणमा रहनु भएका चीनका संस्कृति तथा पर्यटन उपमन्त्री ली छुनले आइतबार बसन्तपुरस्थित नौतले दरबारको अवलोकन गर्नु भएको छ। २०७२ सालको भूकम्पमा भत्किएको उक्त दरबारको पुनर्निर्माणमा चीनले आर्थिक र प्राविधिक सहयोग गरेको छ। चीनको राष्ट्रिय संस्कृति सम्पदा प्रशासनका निर्देशकसमेत रहनु भएका उपमन्त्री ली आफू नेपाल ओर्लिएको तेस्रो दिन आइतबार दिउँसो बसन्तपुर पुगेर दरबारको सबै तलाको अवलोकन गर्नु भएको हो। चीनले उक्त दरबार पुनर्निर्माणको लागि करिब १५ करोड रुपैयाँ अनुदान सहयोग गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

उपमन्त्री ली दिउँसो ३ बजे आफ्नो भ्रमण दलका प्रतिनिधि र काठमाडौंस्थित चिनियाँ राजदूतावासका पदाधिकारीहरूसहित बसन्तपुर पुग्नु भएको थियो। अनौपचारिक भ्रमणमा नेपालमा रहेका चिनियाँ उपमन्त्री लीलाई बसन्तपुरमा पनि स्वागतको लागि कुनै पनि कार्यक्रम राखिएको थिएन। ‘उहाँ आफ्नो टोलीसँग आउनु भएको थियो। नौतले दरबार अवलोकन गर्नुभयो। उहाँले दरबारका हरेक तला रुचीपूर्वक अवलोकन गर्नुभयो,’ हनुमान ढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले भन्नुभयो। उक्त बसन्तपुरको दरबार क्षेत्र युनेस्को विश्व सम्पदा सूचीमा बसन्तपुर दरबार क्षेत्र पनि सामेल छ। पृथ्वीनारायण शाहले उपत्यकाका तीनवटै सहर जितेपछि उक्त दरबारमा आएर बसेका थिए।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अक्टोबरमा २० औं महाधिवेशन पूरा भएर राष्ट्राध्यक्ष सी चिनफिङलाई थप ५ वर्षका लागि नेतृत्व प्रदान गरेपछि बेइजिङबाट काठमाडौँमा पहिलो पटक भ्रमण भएको हो। उपमन्त्री ली भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्नका लागि आउनु भएको हो। उहाँले भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र साथै नुवाकोट दरबार क्षेत्र पनि अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ।

नेपालमा निर्वाचन आइरहेको र त्यसपछि मात्र बेइजिङबाट काठमाडौं आउनको लागि नेपालको परराष्ट्र मन्त्रालय र संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले चिनियाँ दूतावासलाई जानकारी दिएको थियो। तर चिनियाँ पक्षले उपमन्त्री लीको भ्रमण निजी मात्र हुने र सांस्कृतिक सम्पदाको निरीक्षणमा केन्द्रित हुने दाबी गरेको समाचारमा उल्लेख छ।