नेपाल वायु सेवा निगमद्वारा भैरहवामा पहिलो तालिम उडान
2022-11-14 16:50:45cri
Share with:

नेपाल वायुसेवा निगमले आइतबार पहिलोपटक भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना दुईजना ट्रेनी पाइलटका लागि न्यारोबडी विमानबाट तालिम दिएको छ। निगमको अपरेसन विभाग प्रमुख क्याप्टेन रवीन्द्रकुमार शेरचनका अनुसार, भैरहवा विमानस्थललाई आधार बनाई निगमले आफ्ना पाइलटलाई पहिलो पटक तालिम दिएको कान्तिपुर अनलाइनले लेखेको छ।

उहाँका अनुसार, निगमको चिनियाँ जहाज (वाई१२ई) उडाएका को–पाइलट महेशराज पाण्डे र ट्वीनअटर विमानका कोपाइलट कौशल थापालाई नेपाली प्रशिक्षक पाइलट दीपुराज जुआर्चनले तालिम दिनु भएको थियो। आन्तरिक उडानमा रहेका साना विमानबाट अन्तर्राष्ट्रिय जेट विमान उडाउनका लागि निगम व्यवस्थापनले को–पाइलट पाण्डे र थापालाई सिम्युलेटर तालिमका लागि साउनमा ग्लोबल ट्रेनिङ एभिएसन इन्डोनेसिया पठाएको थियो। त्यहाँ दुई महिना सिम्युलेटर (भर्चुअल) तालिम सकेर नेपाल फर्केका दुवै ट्रेनी पाइलटलाई जहाजमा पुन: प्रशिक्षक पाइलटको निगरानीमा तालिम दिनुपर्ने भएकाले निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तालिम दिएको हो।

भैरहवा विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालका अनुसार, ट्रेनी पाइलटलाई तालिम दिन काठमाडौंबाट पौने ३ बजे भैरहवाका लागि उडेको न्यारोबडीले करिब साढे ३ घन्टा भैरहवा विमानस्थलको ‘एयर–स्पेस’ प्रयोग गरेको थियो। तालिमका क्रममा न्यरोबडी भैरहवा विमानस्थलमा ६ पटक ल्यान्डिङ–टेकअफ (उडान–अवतरण) भएको थियो। अन्य अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा ७ सय ५० किलोमिटर प्रतिघन्टासम्म उड्ने न्यारोबडी भैरहवाको आकाशमा भने ३ सय किलोमिटर प्रतिघन्टाको गतिमा उडाइएको थियो। तालिमका क्रममा जहाज भैरहवा विमानस्थलको सतहदेखि १९ सय फिट उचाइमा उडाइएको थियो।

तालिममा सहभागी एक ट्रेनी पाइलटका अनुसार, पहिलो दिनको उडानमा ट्रेनी पाइलट थापाको जाँच सकिएको छ। उनी करिब ३ हजार घन्टा ट्वीनअटरमा उडिसकेका छन्। चिनियाँ जहाजमा झन्डै १९ सय घन्टा उडिसकेका अर्का ट्रेनी पाइलट पाण्डेको भने समय अभाव र अर्को विमान ग्राउन्डेड भएका कारण पूरा तालिम हुन सकेन। निगमले यो बेस तालिमलाई निरन्तरता दिने भनेको छ। १ सय ५८ सिट क्षमता भएको न्यरोबडीको तालिममा उडानमा दुई जना ट्रेनी पाइलट, एक प्रशिक्षक पाइलट र भैपरी सुरक्षाका लागि क्याप्टेन मुकेशकुमार गुप्ता गरी चार जना मात्रै काठमाडौंबाट भैरहवा गएका थिए। तालिममा प्रयोग भएको जहाज राति दुबई उड्नुपर्ने भएकाले उनीहरु चारै जना साँझ ६ बजेअघि काठमाडौं नै फर्किएका थिए। तालिममा जहाज प्रयोग हुँदा लाग्ने खर्च निगमकै दायित्वमा पर्छ।

निगमले भैरहवामा बेस राखेर पाइलटहरुका लागि तालिम उडान गरेको यो दोस्रो हो। यसअघि भदौमा पहिलोपटक हिमालय एयरलायन्सले पाइलट तालिम उडान राखेको थियो। भैरहवा सञ्चालन आउनुअघि न्यारोबडी विमानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बेस बनाई हिमालयले एकपटक र निगमले एक पटक गरी दुईपटक एयरबस ए ३२० का लागि तालिम उडान गरेका थिए। काठमाडौंमा उडान चाप अत्यधिक हुने र तालिम उडान गराउँदा अन्य व्यावसायिक उडानमा रहेका वायुयान डिले हुने भएकाले नागरिक उड्डयन प्राधिकरणले पाइलट उडानको तालिमका लागि भैरहवास्थित गौतम बुद्ध विमानस्थल तोकेको सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताउनुभयो।