पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान बुद्धले बनारस गर्ने
2022-11-15 16:32:27cri
Share with:

नेपालको बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेबित्तिकै त्यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान भारतको बनारस गर्ने घोषणा गरेको छ। बुद्धले सोमबार विज्ञप्ति जारी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेबित्तिकै त्यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान बनारस गर्ने घोषणा गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

‘२०२३ जनवरीदेखि उडानका लागि तयार हुने भन्ने जानकारी प्राप्त भएको हुँदा त्यहाबाट हुने प्रथम अन्तर्राष्ट्रिय उडानका रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार तालिका बनाई सुरु गर्ने छ,’ विज्ञप्तिमा भनिएको छ। उसले पोखराबाट दिल्लीको हवाई रुट स्वीकृत भएपछि उक्त रुटमा पनि उडान गर्ने भनेको छ।

‘रुटका लागि नेपाल र भारत सरकारसँग पहल भइरहेको हुँदा भारत सरकारबाट रुट र स्लट स्विकृत हुनासाथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन दुई उडान र पोखरा–देहरादुन–पोखरा सातामा तीन उडानका लागि हाम्रो तर्फबाट प्रकृया यथाशीध्र अगाडि बढाइने छ,’ विज्ञप्तिमा भनिएको छ। बुद्धका वरिष्ठ प्रबन्धक परासरजंग पाण्डेले यी रुटमा एटीआर ७२ बाट उडान गरिने बताउनुभयो। ‘पोखरा विमानस्थल सञ्चालन भएको पहिलो दिन बनारस उडान गर्ने छौं, उहाँले भन्नुभयो, ‘देहरादुन र दिल्लीको रुटबारे दुबै देशले प्रष्ट्याएपछि ती रुटमा पनि उडान सुरु हुने छ। देहरादुनमा उडान गर्न हाम्रो तर्फबाट पनि छलफल भइरहेको छ।’

२५ वर्षअघि स्थापना भएको बुद्धसँग ७२ सिट क्षमताका ११ र ४७ सिट क्षमताका तीनवटा गरी १४ वटा एटीआर र दुईटा बिचक्राफ्ट गरी १६ वटा विमान छन्। उसले हाल भारतको बनारसमेत गरी दैनिक ४३ वटा हवाई रुटमा उडान गर्दै आएको छ।