चीनद्वारा इञ्जिनियरिङ र कृषि अध्ययनमा नेपाली विद्यार्थीलाई ३२ वटा छात्रवृत्ति आह्वान
2022-11-15 16:30:01cri
Share with:


नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिमा इञ्जिनियरिङ गर्न चीन जान चाहने विद्यार्थीसँग आवेदन माग गरेको छ। चीन सरकारबाट सन् २०२३–२४ मा प्राप्त हुने इञ्जिनियरिङ विषयको स्नातक र स्नातकोत्तर तह तथा कृषि विषयको स्नातकोत्तर तह अध्ययन गर्न चाहने विद्यार्थीसँग आवेदन माग गरिएको जनआस्था अनलाइनले लेखेको छ।

आवेदनका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जिनियरिङ विषयको स्नातक र स्नातकोत्तर तहका लागि इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकबाट लिइएको प्रवेश परीक्षामा उत्तीर्ण भएको हुनुपर्नेछ। त्यस्तै, कृषि विषयका लागि त्रिभुवन विश्वविद्यालय, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानले पछिल्लोपटक सञ्चालन गरेको स्नातकोत्तर तहको परीक्षामा उत्तीर्ण भएको हुनुपर्ने मन्त्रालयको छात्रवृत्ति शाखाले जनाएको छ।

स्नातक तहका लागि २५ वर्ष र स्नातकोत्तर तहका लागि ३५ वर्ष उमेर नपुगेको हुनुपर्नेछ। स्नातकतर्फ बायो–मेडिकल इन्जिनियरिङ, एभिएसन एण्ड एरोनटिकल इञ्जिनियरिङ, बायो–इञ्जिनियरिङ एण्ड बायो–टेक्नोलोजी, केमिकल इञ्जिनियरिङ, माइनिङ, आयल एण्ड ग्याँस, पेट्रोलियम इञ्जिनियरिङका लागि कुल १५ सीट प्राप्त भएको छ।

यता, स्नातकोत्तरतर्फ जियोम्याटिक्स इन्जिनियरिङ, एरोस्पेस इञ्जिनियरिङ, इलेक्ट्रिकल इञ्जिनियरिङ, रक एण्ड टनेल इञ्जिनियरिङ, कम्प्युटर इञ्जिनियरिङ, एग्रिकल्चर इन्जिनियरिङ गरी नौ वटा सीट तोकिएको छ। कृषितर्फ एग्रिकल्चर बायो–टेक्नोलोजी, एग्रिकल्चर बायो–केमिस्ट्री, हर्टीकल्चर र एनिमल साइन्स गरी आठ सीट निर्धारण गरिएको छ। इच्छुक विद्यार्थीले आगामी मंसिर १० गतेभित्र छात्रवृत्ति शाखा, सानोठिमी, भक्तपुरमा दरखास्त दिन सक्नेछन्।