नेपाल सरकारले पुसबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेको छ। चिनियाँ सहयोगमा निर्मित भौतिक निर्माणसम्पन्न भएको विमानस्थल सञ्चालनको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रक्रिया अघि बढाएको नेपाल खबर अनलाइनले लेखेको छ।
पोखरा विमानस्थलको भौतिक पूर्वाधार निर्माण भए पनि रिठ्ठेपानी डाँडा र विमानस्थलनजिकै डम्पिङ साइट पुर्नुपर्छ। सरकारले गत असारमै रिठ्ठेपानी डाँडाका रुख कटौती गर्न स्वीकृत दिएको थियो। उड्डयन प्राधिकरणका अनुसार गत सोमबारबाट रिठ्ठेपानी डाँडा कटान सुरु भएको छ।
‘रिठ्ठेपानी डाँडा डेढ–दुई महिनामै कटान सकिन्छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी भन्नुहुन्छ, ‘डाँडा कटौती गरेको माटोले डम्पिङ साइटमा पुर्ने योजनामा छौँ।’ सरकारले ४० मिटरसम्म डाँडा कटान गर्न अनुमति दिए पनि प्राधिकरणले हाल १४ मिटर कटान गर्ने जनाएको छ। १४ मिटर कटान गर्दा परीक्षण उडान गर्न सकिन्छ।
‘४० मिटर रिठ्ठेपानी डाँडा काट्न टेन्डर आह्वान गरेका थियौँ’, पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीले भन्नुभयो, ‘१४ मिटर काटेपछि परीक्षण उडान गर्न सकिन्छ। यो काम अब २/३ दिनमै सकिन्छ।’
कटान गरेपछि निस्किने माटो व्यवस्थापन कहाँ गर्ने भन्ने निर्क्योल नभइसकेकाले अहिले १४ मिटर मात्रै कटान गरी परीक्षण उडान गर्नलागेको उहाँले जानकारी दिनुभयो।
करिब तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थल निर्माणमा झण्डै २२ अर्ब लगानी भएको छ। विमानस्थल हाल दुई हजार पाँच सय मिटरको धावनमार्गसहित ४५ मिटर चौडाइमा बनेको छ। उक्त विमानस्थलमा तीन वटा न्यारोबडी, चारवटा एटीआर र चारवटा ट्विनअटर गरी ११ वटा जहाज पार्किङ गर्न सकिन्छ।
एटीसी टावर, सातवटा भवन, एउटा ह्याङ्गर पनि निर्माण गरिएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्डअनुसार ‘फोरडी मोडल’मा पर्ने पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुन सक्छन्।