मेलम्चीको पानी टनेलमा पठाउने कार्य अन्तिम चरणमा
2022-11-17 16:22:27cri
Share with:

नेपालको राजधानी काठमाडौँ ल्याउनका लागि मेलम्चीको पानी टनेलमा पठाउने कार्य अन्तिम चरणमा पुगेको छ। वर्षाका कारण अवरुद्ध रहेको मेलम्चीको पानी काठमाडौं ल्याउनका लागि काम सुरु भइरहेको गोरखापत्र अनलाइनले लेखेको छ। अहिले खोलालाई डाइभर्ट गरेर गेटहरु खोल्ने तयारी भएको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘उपत्याकामा मेलम्चीको पानी ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। अहिले खोलाहरु डाइभर्ट गरेर गेटहरु खोल्ने काम भइरहेको छ।’’

गेटहरु खोलिसकेपछि सरसफाइ गरेर मात्र पानी टनेलमा हालिने इन्जिनियर कुँवरले बताउनुभयो। टनेलमा पानी पठाएको करिब १४ दिनपछि मात्र टनेल भरिनेछ र पानी काठमाडौं पठाइने उहाँको भनाइ छ।

यसकारण उपत्यकामा मेलम्चीको पानी आउन अझै एक महिना लाग्ने देखिएको उहाँ बताउनुहुन्छ। कुँवरले भन्नुभयो, ‘‘गेटहरु खोलेर केही फोहोर भए सफा गरेर टनेलमा पानी पठाउँछौँ। तर टनेलमा पानी पठाएको करिब १४ दिनसम्म त टनेल भरिन समय लाग्छ। त्यसपछि मात्र काठमाडौं पानी पठाउन सुरु गर्छौं।’’
कुँवरका अनुसार वर्षाअगावै गेटहरु बन्द गरिएकाले गतवर्षको तुलनामा यसवर्ष सुरुङभित्र र बाहिर बढी क्षति नभएकाले आधामात्र सरसफाइ गरे पुग्ने देखिएको छ। तर, अबको एक दुई दिनमा सुरुङभित्रको केही फोहोर सफा गरिसक्ने उहाँको भनाइ छ।

अम्बाथानमा पोर्टल खोल्ने काम पनि जारी नै रहेको कुँवर बताउनुहुन्छ। अहिले आयोजनाको टोली मुहान मर्मतमा खटिएको उहाँले जानकारी दिनुभयो।

हाल जतिसक्दो छिटो पानी सुरुङमार्गमा पठाउने गरी काम भइरहेको उहाँको भनाइ छ। चुनावले गर्दा पनि काममा केही ढिलाइ भएको उहाँ बताउनुहुन्छ
विसं २०७८ असार १ को बाढीले आयोजनाको बाँध र हेडवर्क्समा क्षति पुर्‍याएपछि मर्मत गरी २०७९ वैशाख ११ गतेदेखि असारको पहिलो सातासम्म पानी ल्याइएको थियो।  गत असार १८ गते वर्षाले क्षति पुर्‍याउन सक्ने भन्दै मूल गेट नै बन्द गरिएको थियो।

अध्ययन गर्दै एडीबीको टोली
एडीबीको टोली भौगर्भिक अध्ययनका लागि ११ दिनदेखि त्यस क्षेत्रमा छ। मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले दिएको जानकारी अनुसार एडीबीको टोलीले भेमान्थाङ र हेडवर्क्सको अध्ययन गरिरहेको छ।

भेमान्थाङमा ड्रिलिङ्ग गरेर जमिन भित्रको अवस्थितिको अध्यन गरिहेको छ भने मेलम्चीको मुहानमा हेडवर्क्सलाई सार्ने कि नसार्ने भन्ने विषयमा अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो।