नेपालमा वर्षदिनमा साढे सात लाख करदाता थपिए
2022-11-18 16:20:02cri
Share with:

नेपालमा यसवर्षको कर दिवस ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधार: दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ नाराका साथ मनाइने भएको छ। करदाता आफैंले स्वेच्छिक रुपमा कर तिर्न अभिप्रेरित गर्ने र कर भुक्तानी प्रणालीलाई प्रविधिमैत्री बनाउने गरी विभागले काम गरिरहेको महानिर्देशक आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यले बताउनुभएको कारोबार अनलाइनले लेखेको छ।

“कर तिर्ने प्रक्रियालाई प्रविधिमैत्री बनाउने र दर्तादेखि अन्तिमसम्मको काममा करदाता भौतिकरुपमा उपस्थित हुन नपर्ने अवस्था बनाउन काम काम गरिरहेका छौं,” उहाँले भन्नुभयो। उहाँका अनुसार कर भुक्तानी प्रणाली सुधारका लागि विभागले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा ट्याक्स एड्मिनिस्ट्रेसन डायग्नोस्टिक एसेस्मेन्ट टुल (टाडाट) र जर्मन सहयोग नियोगको सहयोगमा विजनेस प्रोसेस इञ्जिनियरिङ (बिपिआर) गरिरहेको छ।

विभागअन्तर्गत ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता कार्यालयसमेत गरी जम्मा ८४ वटा कार्यालय छन्। विभागका अनुसार गत असार मसान्तसम्ममा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाताको संख्या ४८ लाख १२ हजार सात सय १७ पुगेको छ।

२०७८ असार मसान्तसम्ममा यस्तो संख्या ४० लाख ४९ हजार एक सय नौ थियो। गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै सात लाख ६३ हजार ६ सय आठ करदाता थपिएका छन्। अब व्यावसायिक स्थायी लेखा नम्बर लिएका करदाताको संख्या १७ लाख ६२ हजार चार सय १३ पुगेको छ।

व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ ३० लाख ५० हजार तीन सय चार करदाता छन्। गत आर्थिक वर्षमा व्यावसायिक स्थायी लेखा नम्बर (बी–पान)तर्फ दुई लाख ११ हजार आठ सय ६६ करदाता र व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ पाँच लाख ९६ हजार तीन सय ७२ करदाता करको दायरामा ल्याइएको विभागले जनाएको छ।