यूएईविरुद्धको एकदिवसीय सिरिज नेपालको कब्जामा, ज्ञानेन्द्र र आसिफको अर्धशतक
2022-11-19 17:11:49cri
Share with:

 

नेपालले यूएईविरुद्धको ३ खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ। तेस्रो तथा अन्तिम खेल ६ विकेटले जितेर नेपालले सिरिज २-१ ले आफ्नो पक्षमा पारेको नेपाल भ्युज अनलाइनले लेखेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको अन्तिम खेलमा आसिफ सेख र ज्ञानेन्द्र मल्लले उत्कृष्ट ब्याटिङ गरे। १७७ रनको सामान्य लक्ष्य नेपालले ५९ बल अगाडी नै ४  विकेट गुमाएर पुरा गरेको थियो। आसिफले अविजित ८८ रन बनाए। यस्तै ज्ञानेन्द्र मल्ल ६४ रनमा आउट भए। कप्तान रोहित पौडेलले १० र अर्जुन साउदले ९ रन बनाए।

एकदिवसीय क्रिकेटमा यो दुवै खेलाडीको पाँचौँ अर्धशतक हो। आसिफले १२ चौका प्रहार गरेका थिए। यस्तै मल्लले ३ छक्का र ७ चौका हाने।

त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले पूरै ओभर खेलेर ९ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। ९३ रनमा ९ विकेट गुमाएको युएईका लागि अन्तिममा आएका दुई ब्याट्स्म्यानले ८४ रनको साझेदारी गरेर सम्मानजनक स्कोरमा पुर्‍याएका थिए। अन्तिम क्रमका अफजल खानले अविजित ५४ र हजरत बिलालले २० रन बनाए।

अलिशान शराफुले ३३ र रोहन मुस्तफाले २४ रन बनाए। नेपालका लागि कुशल भुर्तेल, गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले २–२ तथा ललित राजवंशी र सोमपाल कामीले १–१ विकेट लिए। सिरिजको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले यूएईलाई ३ विकटले हराएको थियो।

एकदिवसीयमा यूएईविरुद्ध यो नेपालको चौथो जित हो। यसअघि नेपाल र यूएईबीच ८ एकदिवसीय खेल भएका थिए। जसमा नेपालले ३ र युएईले ५ खेल जितेको थियो। आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबिया भ्रमण जानुअघि नेपालले यूएईसँग सिरिज खेलेको हो।

डिसेम्बरमा नेपाली टोली नामिबिया भ्रमणमा जाँदैछ। डिसेम्बर २ बाट सुरु हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्ड रहेका छन्।