नेपालमा करको सङ्कलनमा अधोगति
2022-11-20 16:21:19cri
Share with:

नेपालमा गत कात्तिकमा लक्ष्यको ८१ प्रतिशत मात्रै कर राजस्व सङ्कलन भएको छ। आन्तरिक राजस्व विभागका अनुसार कात्तिकमा ३५ अर्ब ९२ करोड ३८ लाख रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखिएकामा २९ अर्ब पाँच करोड ७८ लाख रुपियाँमा सङ्कलन भएको गोरखापत्र अनलाइनले लेखेको छ। 

विभागका अनुसार कात्तिकमा अन्तःशुल्क (आन्तरिक)बाहेक कुनै पनि कर शीर्षकको लक्ष्य पूरा भएको छैन। विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार कात्तिकमा नौ अर्ब ८१ करोड ६८ लाख रुपियाँ आयकर सङ्कलन गर्ने लक्ष्य तोकिएकामा सात अर्ब ४२ करोड ४२ लाख रुपियाँ मात्र सङ्कलन भएको छ। 

त्यस्तै दस अर्ब ८० करोड २५ लाख रुपियाँ मूल्य अभिवृद्धि कर सङ्कलनको लक्ष्य सात अर्ब ४४ करोड ४९ लाख रुपियाँमा सीमित भएको छ। 

अन्तःशुल्क भने विभागले लक्ष्यभन्दा बढी सङ्कलन गर्न सफल भएको छ। आठ अर्ब १३ करोड ६५ लाख रुपियाँ अन्तःशुल्क सङ्कलनको लक्ष्य रहेकामा कात्तिकमा मात्रै आठ अर्ब ३९ करोड १७ लाख रुपियाँ सङ्कलन भएको विभागले जनाएको छ। त्यस्तै छ अर्ब ४६ करोड १८ लाख रुपियाँ ब्याज आम्दानी गर्ने लक्ष्य रहेकामा पाँच अर्ब १५ करोड ९४ लाख रुपियाँ प्राप्त भएको छ। 

घरभाडा कर लक्ष्यको ८५ प्रतिशत सङ्कलन भएको छ। १४ करोड ४६ लाख रुपियाँ घरभाडा कर उठाउने लक्ष्य रहेकामा १२ करोड ३६ लाख रुपियाँ मात्र सङ्कलन भएको छ। स्वास्थ्य सेवा कर कात्तिकमा ४१ करोड रुपियाँ सङ्कलन भएको छ। 

विभागले ४२ करोड ७५ लाख रुपियाँ स्वास्थ्य सेवा कर सङ्कलन गर्ने लक्ष्य राखेको थियो। त्यस्तै शिक्षा कर शीर्षकमा विभागले १० करोड ३८ लाख रुपियाँ सङ्कलन गरेको छ जब कि कात्तिकमा १३ करोड ३८ लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो।