बेइजिङ भ्रमणको सम्झना गर्दै गायक घिमिरेले भने म त चकित भएको थिएँ
2022-11-21 16:12:07cri
Share with:

      -------अजय अलौकिक

१७/१८ वर्षअघि बेइजिङ पुगेको अझै झलझली याद आउँछ। फराकिलो बाटो, अग्ला अग्ला भवन आधुनिक विकास सँगसँगै हजारौँ वर्षको इतिहासको संरक्षण गजब छ। यो गायक ज्योति घिमिरेले सीएमजी नेपाली सेवासँगको कुराकानीमा भनेका हुन्।

गितार लेजेण्ड ज्योति घिमिरेले नेपाली साङ्गीतिक क्षेत्रमा चार दशक बिताइसकेका छन्। उनले आफ्नो साङ्गीतिक क्यारियरमा अनगिन्ती गीतहरूमा तार झङ्कृत गरेका छन्। गायक तथा सङ्गीतकारको रूपमा समेत सुनाम कमाएका घिमिरेको जीवनको अर्को पाटो भने प्रविधिसँग जोडिएको छ। उनले ३५ वर्षसम्म नेपाल टेलिकममा रहेर सेवा गरेका थिए।

गितार लेजेण्ड गायक, सङ्गीतकार ज्योति घिमिरे सन् २००४ मा अमेरिकामा कन्सर्ट सकाएलगत्तै आफ्नो अफिसबाट तालिमकालागि बेइजिङ आएका थिए। हाल अवकाश प्राप्त जीवन बिताइरहेका गायक ज्योति घिमिरे त्यस समयमा नेपाल टेलिकममा कार्यरत् थिए। तालिमकालागि बेइजिङ आएका उनी बेइजिङ सहरको विकास देखेर अचम्म लागेको सम्झना गर्छन्।

‘भर्खरै अमेरिका पुगेर आएको मान्छे बेइजिङमा अमेरिकामा जस्तै ठूला फराकिला सडक, बाटो अनि अग्ला अग्ला भवनहरू देखेर चकित नै खाएँ।’ उनी पुराना दिन सम्झन्छन्।

 ‘आजको कुरा होइन, आज चीनले धेरै प्रगति गरिसकेको छ। हरेक क्षेत्रमा नम्बर १ भएको छ। तर म झण्डै बीस वर्षअघिको कुरा गर्दैछु। सहरको दृश्य देख्दा एक छिन त अमेरिकामै छु कि जस्तो, त्यस्तो गजब लागेको थियो,’ उनले थपे।

साथै उनले आफ्नो पहिलो चीन भ्रमण क्रममा चीनको गरिमामय इतिहास र यसको संरक्षण तथा त्यसमाथिको पर्यटन विकास अझै स्मरणीय रहेको बताए। विश्वका धेरै देशहरूको भ्रमण गरे तापनि बेइजिङ भ्रमणको सम्झना अलि गाढा बसेको बताउँछन्।

यतिका वर्ष भइसक्यो तर बेइजिङ भ्रमणको सम्झना अलि गाढा गरी नै बसेको छ, उनी भन्छन्। उनी टेम्पल अफ हेभन, फोरबिडन सिटी, अरनिकोनिर्मित श्वेतचैत्यदेखि ग्रेटवाल भ्रमणको दौरान भएका घटनाहरू फरर सुनाउँछन्।

उनी चीनले पूरातात्विक, सांस्कृतिक वस्तुहरूको महत्त्व, संरक्षण र त्यसलाई पर्यटन गन्तव्यको रूपमा विकास गरेको पाउँदा चीनले यसरी नै आफ्नो पाँच हजार वर्षको इतिहासलाई संरक्षण गरेको विश्वास गर्छन्।

यसै क्रममा उनले हालै सफलताका साथ सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशन तथा चिनियाँ राष्ट्रपति सी चिनफिङ पुनःमहासचिवमा निर्वाचित भएकोमा बधाई पनि व्यक्त गरे। ‘सारा नेपालीको तर्फबाट चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा चिनियाँ कम्युनिस्ट पार्टीलाई बधाई तथा शुभकाना व्यक्त गर्न चाहन्छु।’

उनले भने, ‘राष्ट्रपति सीले नेपाललाई महत्त्व दिँदै नेपाल भ्रमण गर्नुभएको छ, उहाँको कार्यकालमा नेपाल चीन सम्बन्ध अझै झाँगिदै जाने विश्वास छ। साथै बीआरआईलगायतका विभिन्न विश्व शान्ति र आर्थिक विकासका पहलहरू ल्याउनुभएको छ, यसले पनि सारा विश्व र नेपाललाई फाइदा पुग्ने छ भन्ने मलाई लागेको छ।’

यसै गरी उनी सन् २०१० चीनको प्रविधिमय सहर सन्चनमा पनि तालिमकालागि आएका थिए। वरिष्ठ प्राविधिक अधिकृत घिमिरे वि.स. २०७२ मा सेवानिवृत्त भएका थिए।

यस बाहेक, गायक तथा सङ्गीतकारको रूपमा समेत प्रसिद्धि कमाएका घिमिरे वि.स. २०४० देखि अनवरत् सङ्गीतमा लागेका छन्। घिमिरेले हालसम्म ३ वटा साङ्गीतिक सङ्ग्रह श्रोतासामु प्रस्तुत गरेका छन्।

उनले पछिल्लो समय बदामे ती आँखा बोलको गीतलाई आफ्नो यूट्यूबमार्फत् सार्वजनिक गरेका छन्। उनले हालको ट्रेण्डलाई पछ्याउँदै यूट्यूबमा सार्वजनिक गरेको बताए। ‘अहिले पकेटमा प्रविधि छ, त्यसलाई फलो गर्नैपर्छ,’ उनले भने। साथै श्रोता दर्शकलाई पनि आफ्नै नाममा खोलेको यूट्यूब च्यानल सब्सक्राइब गर्न आग्रह गर्छन्।

उनले यसरी नै ज्योति घिमिरे नामको यूट्यूब च्यानलबाट केही समयअघि तिमी आएनौँ बोलको गीत पनि सार्वजनिक गरेका थिए। साथै उनले कुराकानीको दौरानमा आफ्नो छोटो बेइजिङ बसाइमा बेइजिङको पप कल्चर तथा साङ्गीतिक समूहहरू बारे हल्का रूपमा हेर्न र बुझ्न पाएको पनि बताए।

(सीएमजी नेपाली सेवाकालागि अजय अलौकिकले गरेको कुराकानीको अंश)