विदेशी पर्यवेक्षकद्वारा नेपालको निर्वाचनको प्रशंसा
2022-11-22 15:51:36cri
Share with:

आइतबार सम्पन्न आमनिर्वाचन शान्तिपूर्ण रूपमा सफल भएको भन्दै विदेशी पर्यवेक्षकले उच्च प्रशंसा गरेका छन्। आमनिर्वाचनको दिन मतदानको अनुगमनमा संलग्न रहनुभएका विदेशी पर्यवेक्षकले नेपालको लोकतान्त्रिक संस्कार राम्रो रहेकाले पनि आमनिर्वाचन शान्तिपूर्ण रूपमा सफल हुन सकेको प्रतिक्रिया दिनुभएको निर्वाचन आयोगले जनाएको छ।

यस पटक नेपालको आमनिर्वाचनको पर्यवेक्षण गर्न उच्चपदस्थ व्यक्तिमध्ये जापानबाट विदेश राज्यमन्त्री ताकेई सुनसुकेको नेतृत्वमा उच्चस्तरीय टोली नेपाल आएको आयोगका सहप्रवक्ता कमल भट्टराईले बताउनुभयो। त्यस्तै आमन्त्रित रूपमा छिमेकी मुलुक भारत, बङ्गलादेश, भुटान, मालदिभ्स र दक्षिण कोरियाका प्रमुख निर्वाचन आयुक्त आमनिर्वाचनको मतदान अनुगमनमा आइपुग्नुभएको उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सबैसँग औपचारिक कुराकानी नभए पनि अनौपचारिक रूपमा सबै विदेशी पर्यवेक्षकले आमनिर्वाचन सफल बनाउन भएका अभ्यासको प्रशंसा गर्नुभएको छ।”

संस्थागत रूपमा आमनिर्वाचन पर्यवेक्षणका लागि चारवटा विदेशी संस्थाले नाम दर्ता गराएका भए पनि दुईवटा संस्थाका प्रतिनिधि मात्र नेपाल आएको भट्टराईले बताउनुभयो। उहाँका अनुसार रसियाको सिभिक च्याम्बर अफ रसियन फेडेरेसन र एसियन नेटवर्क फर फ्री इलेक्सन नामक संस्थाका १२ जना विदेशी पर्यवेक्षक आमनिर्वाचनको सम्पूर्ण पर्यवेक्षणका लागि खटिनुभएको गोरखापत्र अनलाइनले जनाएको छ।

यी दुई टोलीले मतदान, मत गणना र अन्तिम निष्कर्षसमेतको अवलोकन गर्ने भट्टराईले बताउनुभयो। त्यसका लागि मतदानपछिको दोस्रो दिनदेखि मत गणनाको पर्यवेक्षणमा टोलीको सहभागिता रहेको छ।

यसैबीच प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका जापानका विदेश राज्यमन्त्री ताकेई सुनसुकेले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग शिष्टाचार भेट गर्नुभएको छ।

भेटका अवसरमा राज्यमन्त्री ताकेईले नेपालमा मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रक्रियाको प्रशंसा गर्नुभएको थियो। प्रमुख आयुक्त थपलियाले मतदानको गतिविधि अवलोकन गरेर सघाउनुभएकामा विदेश राज्यमन्त्री ताकेईसहितको प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गर्नुभएको सहप्रवक्ता भट्टराईले जानकारी दिनुभयो। साथै उहाँहरूबीच द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा पनि छलफल भएको आयोगले जनाएको छ।