बर्सेनि ऊनीजन्य वस्तुको निर्यात बढ्दो
2022-11-22 15:52:47cri
Share with:

मुलुकबाट ऊनीजन्य वस्तु (फेल्ट)को निर्यात बर्सेनि बढ्दै गइरहेको छ। भन्सार विभागको विगत ८ वर्षको तथ्यांक हेर्दा क्रमश निर्यात बढ्दै गएको देखिएको हो । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मात्रै १ अर्ब ६८ करोड ३० लाख रुपैयाँ बराबरको ऊनीजन्य सामग्री निर्यात भएको छ । गत वर्ष सोही अवधिमा १ अर्ब ६५ करोड  २४ लाख रुपैयाँ बराबरको निर्यात भएको कान्तिपुर अनलाइनले जनाएको छ।

 

ऊनीजन्य वस्तुको निर्यात बढ्दै गएपनि यसको कच्चा पदार्थ भने बाहिरबाटै आयात गरिने नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले जनाएको छ । झण्डै पाँच वर्षअघि वार्षिक ९० करोडको हाराहारीमा निर्यात हुने ऊनीजन्य वस्तुहरु गत वर्ष ४ अर्बको निर्यात भएको विभागको तथ्यांक छ । अघिल्लो आर्थिक वर्ष ३ अर्ब ६१ करोड रुपैयाँ बराबरको ऊनीजन्य वस्तु निर्यात भएको थियो ।

 

गत आवको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा ३ करोड रुपैयाँको निर्यात बढेको देखाएपनि केही महिनादेखि निर्यात घटेको संघका अध्यक्ष नरेशलाल श्रेष्ठले बताउनुभयो। ‘बर्सेनि निर्यात बढ्दै गएपनि केही महिनादेखि घटेको छ,’ उहाँले भन्नुभयो, ‘रुस–युक्रेन युद्धका कारण निर्यात घटेको हो।’

 

स्वदेशी उत्पादन राम्रो हुने भएकाले निर्यात बढ्दै गएको उहाँको भनाइ छ। ऊनीबाट बनेका जुत्ता, खेलौना लगायत वस्तु धेरै निर्यात हुने उहाँले सुनाउनुभयो। नेपालमा ऊनीजन्य वस्तु उत्पादन गर्ने १५० वटा उद्योग छन्।त्यस्तै ४० भन्दा बढी निर्यातकर्ताहरु रहेको संघले जनाएको छ। नेपाली फेल्टजन्य उत्पादन अष्ट्रेलिया, डेनमार्क, अमेरिका, जर्मनी, नेदरल्याण्ड, कोरियालगायत विभिन्न मुलुकमा निर्यात हुन्छ।