आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान
2022-11-23 15:40:18cri
Share with:

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरुको क्षमता परीक्षण गर्न सोमबारदेखि क्यालिब्रेसन उडान हुँदैछ। यसका लागि एरो थाईको जहाज शनिबार पोखरा पुगेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर (२१ नोभेम्बर)देखि ११ मंसिर (२७ नोभेम्बर)सम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो।

 यो प्रयोजनका लागि अघिल्लो पटक भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गरेको एरो थाई कम्पनीको जहाज नेपाल बोलाइएको हो। यो जहाज आगामी ५ डिसेम्बरसम्म नेपाल रहने छ।

 अनलाइन खबरका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले १ जनवरी २०२३ देखि व्यावसायिक उडान गर्ने निर्णय गरिसकेको छ। त्यस अगाडि परीक्षणहरु हुनुपर्छ।

 प्राधिकरणका अनुसार क्यालिब्रेसन फ्लाइट एक विस्तृत यान्त्रिक परीक्षण उडान हो । यो सम्पन्न भएपछि उडान गरेको कम्पनीले प्रतिवेदन बुझाउँछ। सोही प्रतिवेदनका आधारमा नयाँ विमानस्थलमा परीक्षण उडान गरिन्छ। परीक्षण उडान समेत सफल भएको प्रतिवेदन आएपछि भने विमानस्थलमा अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि कम्पनीहरुले अनुमति पाउँछन्।