सूचना-प्रविधि उद्योगमा विदेशी लगानी घट्यो
2022-11-23 15:41:39cri
Share with:

सूचना तथा प्रविधिमा आधारित उद्याेगमा विदेशी लगानी प्रतिबद्धता  घटेको छ । यस वर्ष साउन, भदौ, असोज र कात्तिकमा एउटा मात्रै उद्योगमा विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

यस वर्ष सूचना तथा प्रविधिमा आधारित एक साना उद्योगमा ५ करोड रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। गत वर्ष सोही अवधिमा ४ वटा साना उद्योगमा ३५ करोड रुपैयाँ लगानी प्रतिबद्धता भएको थियो । गत वर्ष अमेरिकाबाट २ वटा उद्योगमा १० करोड रुपैयाँ र चीनबाट २ वटा उद्योगमा २५ करोड रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।

विदेशी लगानी घटे पनि गत वर्षको चार महिनाको तुलनामा यस वर्ष सूचना तथा प्रविधिमा आधारित उद्योगको संख्या भने बढेको छ । साउन, भदौ, असोज र कात्तिकमा सूचना प्रविधिमा आधारित ४ वटा उद्योग दर्ता भएका छन् । यस वर्ष साना उद्योग ३ र एउटा मझौला उद्योग दर्ता भएका छन् । यसका लागि उद्योगीहरूले ३१ करोड रुपैयाँ प्रतिबद्धता गरेका छन् ।

 गत वर्ष सोही अवधिमा २ वटा साना उद्योग दर्ता भएका थिए भने त्यसका लागि २० करोड रुपैयाँ प्रतिबद्धता प्राप्त भएको थियो। गत आर्थिक वर्षभरि साना र ठूला गरी ६ वटा उद्योग दर्ता भएका थिए। जसमा उद्योगीहरूले १ अर्ब ८९ करोड ८५ लाख रुपैयाँ लगानी प्रतिबद्धता व्यक्त गरेको कान्तिपुर अनलाइनले जनाएको छ।