घट्न थाल्यो वैदेशिक लगानी प्रतिबद्धता
2022-11-23 15:40:59cri
Share with:

मुलुकमा वैदेशिक लगानीको प्रतिबद्धतामा उल्लेख्य कमी आएको छ। चालू आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा (साउनदेखि कात्तिकसम्म) ९५ परियोजनाका लागि ११ अर्ब छ करोड २८ लाख आठ हजार ७०४ रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । गत  वर्ष साउनदेखि कात्तिकसम्ममा २४ अर्ब ८० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

 विभागका अनुसार अहिले प्रतिबद्धता आएकामा उत्पादनमूलक उद्योग पाँच, पर्यटनमूलक उद्योग ३९, सेवामूलक उद्योग ४६, पूर्वाधारमा एक र सूचना प्रविधिमा आधारित उद्योग चारवटा छन्। यसमा ठूला उद्योग एक, मझौला उद्योग १९ र साना उद्योगको सङ्ख्या ७५ वटा छन् । ती परियोजना सञ्चालन भए पाँच हजार ८१५ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।

 विभागका महानिर्देशक रामचन्द्र तिवारीले विश्व आर्थिक मन्दी र रुस–युक्रेन युद्धका कारण वैदेशिक लगानी प्रतिबद्धता कम आएको बताउनुभयो । “विश्वभर देखिएको आर्थिक सङ्कटले लगानी प्रतिबद्धता अझै घट्ने देखिन्छ,” उहाँले भन्नुभयो । स्वदेशमा उद्योग खोल्ने भनेर लगानी प्रतिबद्धता जनाए पनि सोअनुसार लगानी नआएको जानकारी उहाँले दिनुभयो ।

 विभागका अनुसार वैदेशिक लगानी प्रतिबद्धता जनाउनेमा सबैभन्दा बढी चिनियाँ लगानीकर्ता छन्। चिनियाँ लगानीकर्ताले सफ्टवेयर, होटल तथा रेस्टुरेन्ट, कार्गो क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। बङ्गलादेशी लगानीकर्ताले कार्गो, गार्मेन्ट र विज्ञापन एजेन्सी क्षेत्रमा लगानी गर्ने गोरखापत्र अनलाइनमा खबर छ।

सिङ्गापुरका लगानीकर्ताले निर्माण सेवा र कार्गोमा बढी लगानी गर्ने भएका छन् । यस्तै भारतीय लगानीकर्ताले आन्तरिक क्लियरेन्स डिपो सञ्चालन गर्ने विभागको तथ्याङ्क छ ।

 यसैअघि प्रतिबद्धताअनुसार वैदेशिक लगानी नआएपछि विभागले विदेशी नागरिकलाई व्यावसायिक भिसामा कडाइ गरेको थियो । पछिल्लो समय विदेशीले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्र विदेशी लगानी स्वीकृत गरेको तर प्रतिबद्धताअनुसार लगानी नभित्रिएपछि भिसामा कडाइ गरिएको विभागले जनाएको छ । चालू आवको कात्तिकसम्म ५३४ लगानीकर्तालाई व्यावसायिक भिसा सिफारिस गरिएको विभागले जनाएको छ । हाल करिब तीन हजार विदेशी नागरिकले व्यावसायिक भिसा पाएको विभागले जनाएको छ ।