बेइजिङमा नेपाली शान
2022-11-23 14:58:14CRI
Share with:

यो चीनको राजधानी सहर बेइजिङमा नेपालको राष्ट्रिय विभूति कलाकार अरनिकोले १३औँ शताब्दीमा निर्माण गरेको विशाल श्वेतचैत्य हो। बेइजिङमा झण्डै ७५०वर्षदेखि ऐतिहासिक, सांस्कृतिक तथा पूरातात्विक महत्त्व बोकेर उभिइरहेको यो श्वेतचैत्यले नेपालीको शान पनि उचो गरेको छ।

यसै श्वेतचैत्य परिसरमा हालै नेपाल चीन संस्कृति आदानप्रदान सप्ताह आयोजना गरिएको थियो। यस क्रममा एउटा प्रदर्शन कक्षमा कलाकार अरनिकोको जीवन गाथालाई सचित्र प्रदर्शन गरिएको छ। जहाँ उनको जन्मदेखि मृत्युसम्म र उनको ऐतिहासिक काम र त्यसपछि उनका सन्तान र चेलाले पनि उनको बाटो पछ्याउँदै कलाको विस्तार गरेको उल्लेख छ।  

यो श्वेतचैत्य अरनिकोले सन् १२७१मा निर्माण थाली सन् १२७९ मा पूरा गरेका थिए। यो चैत्यको उचाइ ५०.९ मिटर छ भने यसको आधारस्थलको क्षेत्रफल १४२२ वर्गमिटर छ।

राष्ट्रिय विभूति अरनिकोले सन् १२६० मा ८० जना कलाकारको नेतृत्व गर्दै तिब्बत हुँदै महान् चीन पुगेका थिए। उनले महान् चीनमा ३ वटा ठूला प्यागोडा र ९ वटा गुम्बाको निर्माणसँगै अनगिन्ती कृतिहरूको रचना गरेका थिए। युआन राजवंशकालमा उनले आफ्नो जीवनको ४५ वर्ष नेपाली कला, संस्कृतिको प्रसारमा समर्पित गरेका थिए। उनको चीनमा सन् १३०६ मा मृत्यु भएको थियो।

यो विशालकाय श्वेतचैत्य नेपाली वास्तुकला, नेपाली कलाकार र नेपालीको गौरव तथा चिनियाँ राष्ट्रको शान, राष्ट्रिय एकताको प्रतीक र नेपाल चीन बीचको मित्रताको प्रतीक बनेर उभिइरहेको छ।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/