देशको चुनावी महोलका कारण आन्तरिक उडान भरिभराउ
2022-11-25 17:41:53cri
Share with:

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका कारण आन्तरिकतर्फको हवाई उडान भरिभराउ भएको छ। पछिल्लो समय मतदानमा सहभागी भएर आफ्नो थातथलोबाट राजधानी भित्रिने यात्रुको चापले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भरिभराउ छ।

अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा हवाई यात्रुको चाप बढ्दै गएको बताउनुभयो। हाल चाडपर्वपछि विदेशबाट फर्किने, वैदेशिक रोजगारी, उच्च शिक्षाका लागि बाह्य मुलुक जाने यात्रुले अन्तर्राष्ट्रिय उडान र निर्वाचनको चहलपहलले आन्तरिकतर्फको उडान भरिभराउ रहेको उहाँले जानकारी दिनुभयो । “पछिल्लो समय काठमाडौँ विमानस्थलबाट आन्तरिकतर्फ दैनिक ११ हजार र अन्तर्राष्ट्रियतर्फ दैनिक १४ हजार यात्रुले ओहोरदोहोर गर्दै आएका छन्”, उहाँले भन्नुभयो।

अहिले हिमाली जिल्लाका कर्मचारी, मतपत्र, मतमेटिका, उम्मेदवारलाई बोक्न र उद्धार उडान गर्नसमेत हेलिकोप्टरलाई भ्याइनभ्याइ छ। पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ दैनिक १४० को हाराहारीमा उडान तथा अवतरण हुँदै आएको प्रवक्ता सिटौलाले जानकारी दिनुभयो।

 

त्यस्तै अन्तर्राष्ट्रियतर्फ भने दैनिक ८० को हाराहारीमा उडान तथा अवतरण हुँदैआएको उहाँको भनाइ छ। यात्रुवाहक उडानको चापका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप बढ्दा राति १० बजेसम्म नै आन्तरिक उडान हुँदैआएको छ। बढ्दो हवाई ट्राफिकका कारण पछिल्लो समय जहाज ‘डिले’ हुने क्रम बढेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका अनुसार सन् २०२२ को १० महिनामा ६४ लाख ८० हजार यात्रुले हवाई सेवा लिएका छन्।