लैङ्गिक हिंसाविरुद्धको अभियान सुरु
2022-11-26 16:00:32cri
Share with:

“सभ्य समाजको पहिचान लैङ्गिक हिंसाविरुद्धको अभियान”नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शद्रक्रबारदेखि सुरु भएको छ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले लैङ्गिक हिंसाको अन्त्यका लागि हरेक व्यक्तिको समान योगदान हुनुपर्ने बताउनुभयो । मन्त्रालयले विभिन्न सामाजिक सङ्घसंस्थासँगको साझेदारीमा शुक्रबार राजधानीमा आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

 लैङ्गिक हिंसा अन्त्यका लागि राज्यले नीति बनाउने र कार्यान्वयनको तहमा महिला/पुरुषले बराबर नै जिम्मेवारी लिने संस्कारको विकास भए समानताको अनुभूतिसँगै समाजमा महिला/पुरुष दुवैले बाँच्न पाउने अवस्थाको सिर्जना हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

 सो अवसरमा मन्त्री रेग्मीले महिला हिंसाविरुद्ध काम गर्ने संस्था ओरेक नेपालले वर्षभरि भएका महिला हिंसाको अवस्था उल्लेख गरिएको स्मारिका ‘अन्वेषी’को लोकार्पण गर्नुभयो । मङ्सिर ९–२४ सम्म (नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म) विश्वभर लैङ्गिक हिंसाविरुद्ध विभिन्न जागरणमूलक कार्यक्रमको आयोजना गरी हिंसा अन्त्यका लागि आवाज बुलन्द गर्ने गरिएको छ ।

 ओरेक नेपालका संस्थापक डा. रेणु अधिकारीले महिला हिंसाविरुद्धको एकीकृत तथ्याङ्क प्राप्त गर्ने संयन्त्रको खाँचो औँल्याउनुभयो । उहाँले सन् २००८ देखि महिलामाथि हुने विविध प्रकारको हिंसाको विस्तृत विश्लेषणसहित अन्वेषीको प्रकाशन गरिआएको जानकारी दिँदै विगतभन्दा अहिले हिंसाको उजुरी गर्ने महिलाको सङ्ख्या बढे पनि तथ्याङ्क छरिएको र न्याय पाउनेको सङ्ख्या अत्यन्त न्यून रहेको बताउनुभयो ।

 महिला अधिकारकर्मी अधिकारीले विगतमा हिंसाबाट प्रभावित महिलालाई राखिने देशभरका अस्थायी गृहमा आउने घटनाका आधारमा तथ्याङ्क सङ्कलन गर्दै आएकोमा हाल स्थानीय तहमा गठन भएका न्यायिक समितिमा पनि हिंसाको उजुरी जाने भएकाले झनै तथ्याङ्क लिन गाह्रो भइरहेको बताउनुभयो ।  अन्वेषीमा यस आर्थिक वर्षमा ओरेक संस्थाले अभिलेख राखेको एक हजार ८१३ वटा हिंसाको घटनाको विश्लेषण गरिएको छ । हिंसाले व्यक्तिको सर्वाङ्गीण विकासमा बाधा पार्ने भएकाले यस्ता गतिविधिविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ ।

 यस सन्दर्भमा नेपालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोगसहित महिला तथा किशोरीको क्षेत्रमा काम गर्ने धेरै सङ्घसंस्थाले १६ दिनसम्म देशभर लैङ्गिक हिंसा निवारणका असल अभ्यास, न्यायको पहुँच, महिलामाथि हिंसा हुने हानिकारक अभ्यासको असरलगायतका विषयमा अन्तक्र्रिया कार्यक्रमको आयोजना भइरहेको छ । अभियानको अवसरमा शुक्रबार माइतीघर मण्डलाबाट विभिन्न सङ्घसंस्थाको सहभागितामा ¥याली निस्केर वसन्तपुर डबलीमा कोणसभामा परिणत भएको थियो ।

 त्यसैगरी राष्ट्रिय महिला आयोगले पनि अभियानकै अवसरमा विभिन्न स्थानीय तहका उपप्रमुखहरूसँग लैङ्गिक हिंसा निवारणका लागि अन्तक्र्रियाको आयोजना गरेको छ। सो अवसरमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले १६ दिने अभियानको सन्दर्भमा मात्र होइन, आयोगले वर्षको ३६५ दिन नै हिंसाप्रभावितका लागि आवश्यक कानुनी सहयोग, अस्थायी वासस्थान (सेल्टर), मनोपरामर्शलगायतका सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

 महिला हिंसा न्यूनीकरणका लागि सबै स्थानीय तहमा गठित न्यायिक समितिका प्रमुखसँग प्रतिबद्धता, ऐक्यबद्धता र समन्वयका काम गर्दै अगाडि बढ्न छलफल गरिएको उहाँले जानकारी दिनुभयो । आयोगका सचिव कविराज पौडेलले लैङ्गिक हिंसा न्यूनीकरणका लागि आयोगले पैरवी, जागरण, उजुरी व्यवस्थापनको काम गर्दै आएको बताउनुभयो ।

 यसैबीच नोभेम्बर २५ का दिन डोमिनिकन रिपब्लिकका तीन साहसिक दिदी–बहिनी (प्याट्रिया, मिनर्भा र मारिया)ले समानताको आवाज उठाउँदा तत्कालीन तानाशाहले हत्या गरेको थियो । ल्याटिन अमेरिकी देशहरूले तीन दिदी–बहिनीको साहसको कदर गर्दै २५ नोभेम्बरलाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थाल्यो ।

 त्यसको तीन दशकपछि १७ डिसेम्बर १९९९ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले नोभेम्बर २५ लाई अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने घोषणा ग¥यो । त्यसपछि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मका दिनलाई हिंसाविरुद्धको १६ दिने अभियानका रूपमा विश्वभर जागरणमूलक कार्यक्रमको आयोजना गरी मनाउँदै आएको छ ।  नेपालमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०५४ सालदेखि मनाइँदै आएको छ। गोरखापत्र अनलाइन।