काठमाडौँ महानगरद्वारा पौने तीन अर्ब राजस्व सङ्कलन
2022-11-28 16:01:21CRI
Share with:

काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक)मा पौने तीन अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ। महानगरले विभिन्न शीर्षकमा दुई अर्ब ७८ करोड १४ लाख २१ हजार १५२ रुपियाँ राजस्व सङ्कलन गरेको हो। यो अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सो अवधिमा दुई अर्ब ४२ करोड सात लाख १७ हजार रुपियाँ राजस्व सङ्कलन भएको गोरखापत्र अनलाइनले लेखेको छ।

महानगरले चालू आर्थिक वर्ष १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। महानगरले चालू आर्थिक वर्ष सम्पत्ति बहाल तथा पट्टाबापतको आयमा लाग्ने कर १० करोड सङ्कलन गर्ने लक्ष्य राखेकामा छ करोड ३० लाख २१ हजार ८५२ रुपियाँ सङ्कलन भएको छ। यस्तै यस आर्थिक वर्ष सम्पत्ति करबापत एक अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा कात्तिकसम्म ५२ करोड ४७ लाख ८० हजार रुपियाँ सङ्कलन भएको छ। जुन अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशत बढी हो।

यस्तै भूमि कर/मालपोत करबापत १५ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा चार महिनामा ६७ लाख ५७ हजार ५९४ रुपियाँ राजस्व सङ्कलन भएको छ। घरजग्गा रजिस्ट्रेसन दस्तुरबापत दुई अर्ब ५० करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा चालू आर्थिक वर्षको कात्तिक महिनासम्म ११ करोड ६८ लाख ३५ हजार ४८६ रुपियाँ सङ्कलन भएको महानगरले जनाएको छ।

चालू आर्थिक वर्ष घरबहाल घर दुई अर्ब रुपियाँ सकलन गर्ने लक्ष्य रहेकामा चार महिनामा ७८ करोड ३७ लाख ४३ हजार १०३ रुपियाँ सङ्कलन गरेको छ।

यस्तै राजस्व बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर छ करोड ८३ लाख ६४ हजार ६६५ रुपियाँ सङ्कलन भएको छ भने सवारीसाधन कर चार करोड सात लाख ९९ हजार ६९७ रुपियाँ, मनोरञ्जन कर ९० लाख ८२ हजार ५०१ रुपियाँ, विज्ञापन कर १२ करोड ३६ लाख एक हजार ९७३ रुपियाँ र पर्यटन शुल्क ३३ करोड ७२ लाख ५८ हजार रुपियाँ सङ्कलन भएको छ।

अन्य सेवा शुल्क पाँच करोड ६९ लाख ८५ हजार २५० रुपियाँ सङ्कलन भएको छ। यस्तै न्यायिक दस्तुर दुई रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा एक लाख १६ हजार रुपियाँ सङ्कलन भएको छ। पार्किङ शुल्क एक करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा २८ लाख ६१ हजार ९३७ रुपियाँ सङ्कलन भएको छ। नक्सा पास दस्तुरबापत सात करोड ५० लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा दुई करोड ८८ लाख २९ हजार ५४० रुपियाँ सङ्कलन भएको महानगरले जनाएको छ।