लघुबीमाका लागि सात कम्पनी छनोट
2022-11-28 16:13:21CRI
Share with:

नेपाल बीमा प्राधिकरणले लघुबीमा व्यवसाय सञ्चालन गर्न सातवटा कम्पनी छनोट गरेको छ। प्राधिकरणले आइतबार तीन लघु जीवन बीमा र चार लघु निर्जीवन बीमा कम्पनीका प्रस्तावलाई छनोट गर्दै लाइसेन्सका लागि प्रक्रिया अगाडि बढाएको गोरखापत्र अनलाइनले लेखेको छ।

लघु जीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स लिमिटेड, विराटनगर (प्रदेश १), क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, वीरेन्द्रनगर (कर्णाली) र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, पोखरा (गण्डकी) छनोट भएका हुन्।

त्यस्तै लघु निर्जीवन बीमा व्यवसायतर्फ ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी, बुटवल (लुम्बिनी), नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, भरतपुर (बागमती), स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, जनकपुरधाम (मधेश) र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, धनगढी (सुदूरपश्चिम) छनोट भएका छन्।

प्राधिकरणले गत भदौ १० गते सूचना जारी गर्दै लघुबीमा कम्पनी स्थापना गर्नेसम्बन्धी प्रस्ताव आह्वान गरेको थियो।

लघुबीमा कम्पनीको लाइसेन्सको अनुमति माग गर्दै ३१ कम्पनीले आवेदन दिएकामा माग सङ्ख्याअनुसार सातवटा कम्पनी छानिएको प्राधिकरणले जनाएको छ।