चीनको यी वुमा नेपाली उत्पादनको प्रवर्द्धन
2022-11-29 15:40:45CRI
Share with:

चीनको चच्याङ प्रान्तको व्यापारिक सहर यी वुमा आयोजित २८औँ यी वु मेला तथा तेस्रो चच्याङ अन्तर्राष्ट्रिय मितेरी सहर आदानप्रदान प्रदर्शनीमा नेपालले पहिलो पटक आफ्नो उत्पादनको प्रवर्द्धन गर्ने मौका पाएको छ। साझा विकास विस्तारका लागि विश्वसँगै हातेमालो भन्ने नाराका साथ चार दिवसीय प्रदर्शनी आयोजना गरिएको कान्तिपुर अनलाइनले लेखेको छ। 

पहिलो पटक नेपाली पेभेलियन बनाइएको र नेपालबाटै आएका ब्यापारीहरूले नेपाली थाङ्का, मूर्तिकला, सांस्कृतिक आदानप्रदान लगायतको प्रदर्शन गरेको नेपाली दूतावासका इकोनोमिक मिनिस्टर छबिन्द्र पराजुलीले बताउनुभयो। कोभिडका कारण बेइजिङबाट राजदूतावासका प्रतिनिधिहरू उपस्थित हुन सकेनन्। अन्य देशका कतिपय उच्च अधिकारीहरुले पनि भिडियोमार्फत् आ आफ्नो देशको उत्पादनको प्रवर्द्धन गरेका थिए।

यि वु अन्तर्राष्ट्रिय एक्स्पो सेन्टरमा २४ देखि २७ तारिखसम्म आयोजित प्रदर्शनीका दौरान नेपालले पर्यटन लगानी संभाव्यता लगायतबारेमा प्रचार गरेका थिए। विधिवत रुपमा २ वर्षदेखि क्रियाशील नेपाल यी वु चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु दुमरूले भन्नुभयो ‘यी वु ट्रेड फेयर बेल्ट एण्ड सिटिजमा भाग लिएर नेपालले पर्यटन र लगानी संभाव्यताका अलावा भगिनी सम्बन्ध स्थापनाका विषयमा अवधारणा राखेका छौं। चिनियाँ लगानीकर्ताहरू नेपाल जान इच्छुक भए पनि चीनको कोभिड पोलिसीका कारण फर्किन गाह्रो हुने भएकाले पर्खिरहेका छन्।’

विश्वका विभिन्न देशका २ सय ३३ भन्दा बढी कम्पनीको आउजाउ हुने संसारको सबैभन्दा ठूलो यी वु होलसेल मार्केट सञ्चालनमा आएको ४० वर्ष पुगेको छ। यस अवधिमा यी वुसँग जोडिएका विश्वका ४० जना विदेशीले लेखेका कथाहरूको सँगालो पनि विमोचन गरिएको छ। नेपालीका कथाहरू पनि समेटिएको छ। पुस्तकमा नेपाली लेखकद्वारा नेपाली उत्पादनको निर्यात सम्भावना तथा यी वु सहर पनि काठमाडौंसँग मिल्दोजुल्दो भएकाले भगिनी सहर सम्बन्ध स्थापना गर्न सकिने विषय उठाइएको दुमरूले बताउनुभयो।

कार्यक्रमका क्रममा सन् २०१६ मा बेइजिङमा पूर्व प्रधानमन्त्री केपी ओलीसँग प्रोफेसर वान च्याउ श ले बेल्ट एण्ड रोडको बारेमा जानकारी गराउँदाका तस्बिरहरू देखाइएको थियो।

प्रदर्शनीलाई महत्व दिँदै जापान, फिनल्याण्ड, रुस सहित ६ देशका १५ भगिनी सहरहरूले भिडियो मार्फत् भाग लिए। भगिनी सम्बन्धलाई चीनले विदेश र जनस्तरीय आदानप्रदानका लागि महत्वपूर्ण माध्यमको रुपमा लिएको जनाएको छ। चीन–विदेश सम्बन्धका लागि महत्वपूर्ण आधार र बलियो समर्थनका रुपमा यसलाई लिइएको चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका महासचिव युआन मिन्ताओले भिडियोमार्फत् भन्नुभयो। उहाँले भन्नुभयो, 'सन् १९७३ देखि चीन–विदेशी मैत्री शहरहरूको भगिनी सम्बन्ध तीव्र भएको छ र अहिले चीनले पाँच महादेशलाई समेट्ने गरी मित्र र साझेदार सञ्जालको अन्तर्राष्ट्रिय सर्कल स्थापना गरेको छ।’

चच्याङ प्रान्तीय शाओ सिङ सहर चीनको पहिलो राष्ट्रिय ऐतिहासिक र सांस्कृतिक शहरहरू मध्ये एक भएकाले पूर्वी एशियाको सांस्कृतिक राजधानी मानिन्छ। २७ देशहरूमा ५४ शहरहरूसँग भगिनी शहर सम्बन्ध र ३४ विदेशी शहरहरूसँग मैत्रीपूर्ण विनिमय सम्बन्धको विकासको लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ।