पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’
2022-11-30 17:24:44CRI
Share with:

बागलुङमा बञ्जीजम्प द क्लिप प्रालिमार्फत सञ्चालनमा आएपछि यो क्षेत्र पर्यटक हब बनेको छ। बञ्जीजम्पमा अहिले दैनिक ५० जनाले बञ्जी गर्ने द क्लिप प्रालिका सञ्चालक प्रकाश प्रधानले बताउनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ। उहाँले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक बञ्जीमा घुम्न आउने गरे पनि सीमित मान्छेले मात्रै साइक्लिङ र बञ्जी गर्ने गरेको बताउनुभयो। पछिल्लो समय विदेशी पर्यटकको आगमन पनि बढ्दै गएको उहाँको भनाइ छ।

‘बिदाको दिन बढी पर्यटक आउनुहुन्छ, अहिले दैनिक तीन–चार सय पर्यटक यहाँ घुम्न आउनुहुन्छ, तर थोरैले मात्रै बञ्जीजम्प गर्नुहुन्छ, हामीले सुरु गर्दा पर्यटकको आगमन निकै कम थियो, अहिले बढ्दै गएको छ’, प्रधानले भन्नुभयो।

बञ्जीसँगै बलेवा क्षेत्रमा रेस्टुरेन्ट, गुलेली पिङ, स्काइ साइक्लिङलगायत आधा दर्जन बढी संरचना निर्माण भएका छन्। ती संरचनामा पनि पर्यटकको घुइँचो लाग्न थालेको प्रधानको भनाइ छ। अहिले स्विङ, स्काइ साइक्लिङ र बञ्जी गर्नेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ। उहाँका अनुसार बाह्य पर्यटक पनि यहाँ आउन थालेका छन्।

बञ्जीजम्प निर्माण गर्दा सुरुमा रु २० करोड लागत लाग्ने अनुमानले संरचना निर्माण सुरु गरेको भए पनि लागत बढ्दै गएपछि अहिलेसम्म रु ५० करोडको हाराहारीमा खर्च भइसकेको उहाँको भनाइ छ। यहाँ बञ्जीसँगै अन्य धेरै संरचना निर्माण गर्दा बढी लागत लागेको उहाँ बताउनुहुन्छ।

विसं २०७३ देखि पुलको निर्माण सुरु गरिएको थियो भने २०७६ सम्म आइपुग्दा रिसोर्टसमेत निर्माण सकिएको थियो। यसको लम्बाइ पाँच सय २५ मिटर छ। खोलादेखि पुलको उचाइ दुई सय २८ मिटर छ। कम्पनीले विश्वकै दोस्रो अग्लो बञ्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गरिरहेको छ। बञ्जीजम्पका कारण बलेवा र कुश्मामा व्यापारव्यवसाय बढ्दै गएको छ।