नेपाल एयरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्ने
2022-12-01 17:03:36CRI
Share with:

नेपाल एयरलाइन्सले आगामी पुस ४ (डिसेम्बर १९) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगमले) ले एकै दिन दुई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्नेछ। एयरलाइन्सले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवामा सिधा उडान गर्ने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनु भएको सेतोपाटी अनलाइनले लेखेको छ।

यसका लागि नेपाल एयरलाइन्सले गत साता उडान अनुमति मागेको थियो। एयरलाइन्सकै मागअनुसार प्राधिकरणले 'विन्टर सेड्युल' स्वीकृत गरेको हो।

प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार नेपाल एयरलाइन्सको एउटा जहाजले काठमाडौं–दोहा–भैरहवा–काठमाडौं रूटमा उडान गर्नेछ। त्यस्तै अर्को जहाजले काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं रूटमा उडान गर्नेछ।

सूचना अधिकारी भुलका अनुसार दोहाबाट भैरहवामा आइतबार र मंगलबार गरी साताको दुइटा उडान हुने छन्। त्यस्तै क्वालालम्पुरबाट भैरहवामा हरेक बुधबार (सातामा एक) उडान एउटा हुनेछ। प्राधिकरणले सन् २०२२ डिसेम्बर १९ बाट सन् २०२३ मार्च २५ सम्मका लागि यो तालिका स्वीकृत गरेको हो।

यसअघि प्राधिकरणले भैरहवाबाट उडान नगरेको भन्दै ३० अक्टोबरबाट लागू हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको नेपाल एयरलाइन्सको उडान कटौती गरेको थियो। प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन स्वदेशी वायुसेवा कम्पनीलाई भैरहवाबाट उडान गर्न निर्देशन दिएको थियो। भैरहवाबाट अनिवार्य उडान गराउन प्राधिकरणले केही समयअघि काठमाडौंबाट भइरहेको केही रूटहरूको नियमित उडान कटौती गरिएको थियो।

फलस्वरूप कात्तिक १७ गतेबाट हिमालय एयरलाइन्सले काठमाडौं-भैरहवा-क्वालालम्पुर दैनिक चार्टर्ड उडान गरिरहेको छ। अब नेपाल एयरलाइन्सले पनि  दुई देशबाट भैरहवामा सिधा उडान गर्ने भएको हो।

यसअघि विन्टर सेड्युलका लागि कटौती भएको दिल्लीसहितका अन्तर्राष्ट्रिय उडानको तालिका पुनः स्वीकृत भएको सूचना अधिकारी भुलले जानकारी दिनुभयो।

'३० अक्टोबरबाट लागू हुने गरी दैनिक तीनभन्दा बढी उडान हुने वायुसेवालाई प्राधिकरणले काठमाडौं विमानस्थलमा ट्राफिक जाम भएकाले भैरहवा जान भनेको थियो। नगएकाको उडान कटौती भएको थियो,' उहाँले भन्नुभयो, 'अब त्रिभुवन विमानस्थलबाट पनि वायुसेवाले मागेकै आधारमा पुरानै तालिकाअनुसार उडान स्वीकृत गरिएको छ।'