जैविक विविधतासम्बन्धी मोन्ट्रिअल सम्मेलनमा नेपालको तयारी
2022-12-01 17:21:16CRI
Share with:

विश्व जलवायु सम्मेलन सकिएको करिब दुई हप्तापछि अन्तर्राष्ट्रिय जगतका वातावरणकर्मीहरू अर्को विश्व सम्मेलनको तयारीमा छन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन आमचासोमा रहे पनि आगामी बुधबार क्यानडाको मोन्ट्रिअलमा हुने संयुक्त राष्ट्रसङ्घीय जैविक विविधता महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलनबारे काठमाडौंमा खासै चर्चा नभएको अनलाइन खबरले लेखेको छ।

सम्मेलनको तयारीका लागि भन्दै नेपालको वन तथा वातावरण मन्त्रालयले गरेका आन्तरिक बैठकहरूबाहेक जैविक विविधतासम्बन्धी आगामी विश्व सम्मेलन (कोप १५) लाई जोडेर कुनै कार्यक्रम भएको जानकारी पनि छैन। न त कुनै अभियन्ता वा गैरसरकारी संस्था सम्मेलनमा जाने तयारीमा छन्।

यद्यपि १३ दिनसम्म चल्ने सम्मेलन र त्यसअघिको एक कार्य समूह बैठकका लागि सरकारले भने चार सदस्यीय टोली क्यानडा पठाउँदै छ। तर, जैविक विविधताको विषयमा नेपालमा गहन चर्चा हुन छाडेका अवस्थामा यस सम्मेलनबाट नेपालले के कति उपलब्धि हासिल गर्ला भन्ने विषयमा भने सरोकारवाला मात्र नभएर सरकारी अधिकारीहरू पनि प्रस्ट छैनन्।

केही वर्ष अघिसम्म नेपालमा वातावरणीय छलफलको केन्द्रमा वन हुन्थ्यो। सरकारले नै ‘हरियो वन:नेपालको धन’ भन्ने नारालाई आक्रामक रूपमा प्रचार गथ्र्यो। प्रायः सबैतिर ‘रुख रोपौँ, वन जोगाऔँ’ लेखेको देखिन्थ्यो। तर, पछिल्ला केही वर्षमा जलवायु परिवर्तनले त्यो स्थान ओगटेको छ।

सम्भवतः यसपछाडिको मुख्य कारण हो, जलवायु परिवर्तनको बृहत्तर प्रभाव, अर्थात् नेपाली मानव जीवनको कुनै पनि पक्ष जलवायु परिवर्तनबाट अछुतो हुन नसकेको अवस्था। यस अवस्थामा जलवायु परिवर्तनको मुद्दाले सर्वत्र चर्चा पाउनु सकारात्मक मात्र नभई एक निर्विकल्प आवश्यकता थियो। तर, समस्या तब पर्‍यो, जब जलवायुबाहेकका अन्य वातावरणीय मुद्दाहरू ओझेलमा परे।