आयात प्रतिबन्ध नलम्ब्याउने निष्कर्षमा सरकार
2022-12-05 16:00:42cri
Share with:

साढे ८ महिनापछि सरकारले चार बिलासी वस्तु माथिको आयात प्रतिबन्ध नलम्ब्याउने भएको छ । महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्धलाई मंसिर मसान्तपछि निरन्तरता नदिने निष्कर्षमा सरकार पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो। नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयसँगको छलफलपछि सरकार प्रतिबन्ध हटाउने अवस्थामा पुगेको र अब प्रतिबन्ध हट्न कानुनी प्रक्रिया मात्रै बाँकी रहेको एक उच्च अधिकारीले बताए । यसअघि समस्यातिर धकेलिएको अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भइरहेको र राजस्व संकलन प्रभावित भएको अवस्थालाई विश्लेषण गरेर तत्कालाई प्रतिबन्ध खोल्न लागिएको हो । अन्तर्राष्ट्रिय दातृ निकायहरुले पनि प्रतिबन्धको साटो ब्याजदरसहितको मौद्रिक उपकरण प्रयोग गर्न सुझाव दिंदै आएका छन् ।

‘अब ३ सय अमेरिकी डलर भन्दामाथिका मोबाइल, ५० हजार डलर भन्दा महँगा गाडी, विदेशी मदिरा र मोटरसाइकलको प्रतिबन्ध हट्छ,’ स्रोतले भन्यो, ‘अब यसलाई निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गर्न वाणिज्य मन्त्रालयले प्रक्रिया पुर्‍याएर अघि बढाउँछ।’

प्रतिबन्ध सुरु भएको अवस्थाको तुलनामा शोधानान्तर अवस्था बचतमा गएको, विदेशी विनिमय सञ्चितीमा सुधार भएको र रेमिट्यान्स आप्रवाह बढेका कारण आयात प्रतिबन्ध हटाउने अवस्थामा पुगेको सरकारी दाबी छ । आयात वृद्धिका कारण विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै सरकारले गत वैशख १३ गते सो आर्थिक वर्षको अन्त्यसम्म १० प्रकारका बिलासी वस्तु आयातमा पूर्ण प्रतिबन्धको नीति लिएको थियो।

यता, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि प्रतिबन्ध हटाउने अवस्थाको अध्ययन भइरहेको अनलाइन खबरले लेखेको छ। मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव तोयम रायाले यसबारे आफूहरुले अध्ययन गरिरहेको बताउनुभयो।