सरकारी लक्ष्यभन्दा धेरै पर्यटक भित्रिँदा नेपालको पर्यटन उद्योग उत्साहित
2022-12-05 15:59:58cri
Share with:

यो वर्ष (सन् २०२२ मा) सरकारको लक्ष्यभन्दा १ लाख बढी पर्यटक भित्रिने भएका छन्। पर्यटन बोर्डले सुरुमा ५ लाख भित्रिने लक्ष्य राखेकोमा पर्यटक ६ लाख बढी पुग्ने देखिएको हो। कोभिड महामारीको कारण ठप्प रहेका पर्यटक २०२२ को सुरुदेखि नै भित्रिन थालेका थिए। पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार ११ महिनामा ५० प्रतिशत बढीले रिकभरी भएको छ। २०२२ को हालसम्म ५ लाख ४६ हजार पर्यटक नेपाल भित्रिएका छन्। ‘२०२२ मा कम्तीमा ५ लाख पर्यटक ल्याउने टार्गेट गरेका थियौँ’, पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, ‘डिसेम्बरसम्म सवा ६ लाख पुग्ने देखिएको छ।’

विश्व पर्यटन संगठनले २०२२ मा विश्यव्यापी रुपमा ६० देखि ६५ प्रतिशत रिकभरी हुने आकलन गरेको थियो। बोर्डका निर्देशक लामिछानेले नेपाल पनि त्यसै हाराहारीमा पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अहिले आएका पर्यटकमा भारतको बजार हिस्सा नै धेरै छ, २०२२ मा भारत, बंगलादेश र अमेरिकाबाट पर्यटक बढेका छन्।’

युरोपमा सुधार हुँदै गए पनि अझै बढ्नसकेको छैन। नेपालमा चिनियाँ पर्यटकको हिस्सा १३ देखि १४ प्रतिशतको बीचमा रहेकोमा पछिल्लो ३ वर्ष एकदमै न्यून छ।

नोभेम्बरमा ५५ प्रतिशतले रिकभरी भए पनि लक्ष्यअनुसार कम आएको लामिछाने बताउनुहुन्छ। सामान्यतया अक्टोबरभन्दा नोभेम्बरमा १० देखि १५ प्रतिशतसम्म पर्यटक बढ्छन्। तर अहिले घटेको उहाँको भनाइ छ।

‘कतारमा विश्वकप हुने भएसँगै कतार एयरवेजले नेपालतर्फको उडान कटौती गर्दै युरोपमा थप गर्यो’, उहाँले भन्नुभयो, ‘बेलायतमा आर्थिक मन्दी र उडान कम हुँदा ५० प्रतिशतले हवाइ भाडा बढ्दा पर्यटक आउन खोजेनन्।’

कतार एयरवेजले ४ वटा उडान गर्दै आएकोमा अहिले २ वटामा झारेको छ। २०१९ नोभेम्बरको तुलनामा ५५.७६ प्रतिशत मात्रै रिकभरी भएको छ। कोभिडअगाडिको २०१९ नोभेम्बरमा १ लाख ३० हजार पर्यटक भित्रिएकोमा अहिले ७२ हजार भित्रिएका हुन्। सन् २०२० मा १ हजार ९५६ मात्रै भित्रिएका थिए भने २०२१ मा २६ हजार १३५ पर्यटक भित्रिएका थिए।

कोभिड अगाडिका २ वर्ष २०१८ मा ११ लाख ७३ हजार र २०१९ मा ११ लाख ९७ लाख पर्यटक भित्रिएका थिए। कोभिड सुरु भएको वर्ष अर्थात् २०२० मा २ लाख ३० हजार पर्यटक भित्रिएका थिए। चैतबाट लकडाउन सुरु भएसँगै घट्न थालेका पर्यटक २०२१ मा १ लाख ५० हजारमा सीमित भए। सन् २०२२ बाट पर्यटन क्षेत्रले पुनः आगमन गर्दै ६ लाख पुग्दै छन्।

नेपालखबर अनलाइनका अनुसार होटल एसोसिएसन अफ नेपाल (हान)ले पनि पुरानो अवस्थामा फर्किन अझै ४–५ वर्ष लाग्ने आकलन गरेकोमा २०२३ सम्म रिकभरी हुने उल्लेख गरेको छ।  हानका महासचिव साजन शाक्यले अघिल्ला २ वर्षको तुलनामा राम्रो ‘कमब्याक’ भएको बताउनुभयो।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पनि सोचेभन्दा राम्रो पर्यटक आगमन भएको जनाएको छ। टानका अध्यक्ष निलहरी बास्तोलाले व्यवसायीको आकलनभन्दा छिटो रिकभरी भएको बताउनुभयो।

पर्यटक आगमन वृद्धि भए पनि तदनुसार होटल अकुपेन्सी नबढेको व्यवसायीले बताएका छन्। हान महासचिव शाक्य पर्यटकको आवागमन बढे पनि होटल अकुपेन्सी बढ्न नसकेको बताउनुहुन्छ। उहाँका अनुसार २०१९ मा विदेशी पर्यटक लक्षित कम होटल थिए। सन् २०२० मा भ्रमण वर्ष मनाउने घोषणासँगै निर्माण थालिएका होटल बनिसकेका छन् तर पर्यटन २०१९ को अवस्थामा फर्कनसकेको छैन।