चितवन राष्ट्रिय निकुञ्जदेखि बाहिरका गैँडा असुरक्षित
2022-12-06 17:35:32cri
Share with:

चुरे क्षेत्रमा रहेको चितवन राष्ट्रिय निकुञ्जदेखि महाभारत शृङ्खलासम्मको वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार वन क्षेत्रमा पर्ने चतुर्मुखी सामुदायिक वनमा आइतबार गैँडाको अस्थिपञ्जर भेटियो। खाग र तीनवटा खुर नभएको अवस्थामा कालिका नगरपालिका–१ मा पर्ने सो सामुदायिक वनमा मृत गैँडा भेटिएसँगै चितवनमा चोरी सिकारीले गैँडा मार्न सक्रियता बढाएको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गर्न थालेका छन्। यद्यपि जिल्ला वन कार्यालय चितवनले भने गैँडा मर्नुको कारण पुष्टि नभएको बताएको छ। “खाग र खुर नभएको गैँडाको अस्थिपञ्जर मात्रै भेटिनुले चोरी सिकारीले मारेको भन्ने त देखिन्छ नै तर धेरै महिनाअघि गैँडा मारिँदा पनि संरक्षणकर्ताले भेउसम्म नपाउनु अचम्मको कुरा हो”, गैँडाविज्ञ तथा चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादव बताउनुहुन्छ। उहाँले निकुञ्जबाहिरका क्षेत्रमा पछिल्लो समय गैँडा मर्ने क्रम बढिरहेकाप्रति चिन्ता व्यक्त गर्नुभयो।

 

चितवन राष्ट्रिय निकुञ्जका अनुसार निकुञ्ज बाहिरी क्षेत्रमा आइतबारसहित गत साउनयता चारवटा गैँडा मरेका भेटिएका छन्। तीमध्ये दुईवटा मारिएका हुन्। एक वर्षअघि मङ्सिर २७ गते चितवनको भरतपुर महानगरपालिका–१६ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा भेटिएको गैँडा पनि विद्युतीय धरापमै पारेर मारेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ। मरेका वन्यजन्तुको पोस्टमार्टम गर्ने निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठ यसरी धमाधम गैँडा मारिँदै जानु संरक्षणका लागि चुनौती भएको बताउनुहुन्छ।

जिल्ला वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनाल पनि गैँडाको सुरक्षामा चुनौती थपिएको स्वीकार्नुहुन्छ। निकुञ्ज बाहिरी क्षेत्रमा चोरी सिकारीको सक्रियता बढेसँगै यसको प्रत्यक्ष प्रभाव निकुञ्जमा पनि पर्ने गोरखापत्रले लेखेको छ।  चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य पनि पछिल्लो समय चितवन र यस आसपासका क्षेत्रमा गैँडा चोरी सिकारी बढेको बताउनुहुन्छ।

 

निकुञ्जमा सबैभन्दा बढी गैँडा आर्थिक वर्ष २०५८/५९ मा मरेका हुन्। त्यो वर्ष मरेका ४८ गैँडामध्ये ३७ वटा चोरी सिकारीले मारेको तथ्याङ्क निकुञ्जसँग छ। चितवन राष्ट्रिय निकुञ्ज र यसको वरपरका वन क्षेत्र गैँडाको प्रमुख बासस्थान हो। पछिल्लो गणनामा देशैभर भेटिएका ७५२ वटा गैँडामध्ये चितवनमा मात्रै ६९४ थिए। यस अवस्थामा गैँडाविज्ञ रामप्रीत यादवले सरकारी निकायसँगै मध्यवर्ती र सामुदायिक वन क्षेत्रमा स्थानीय वन उपभोक्ताको पनि गैँडा संरक्षणमा सकारात्मक सहयोग आवश्यक हुने बताउनुभयो।

 

“सामुदायिक वनका हेरालुलाई दिइँदै आएको दिनको २५ रुपियाँ खाजा खर्च पनि कटौती भएको छ। पाँच/छ महिनाअघि मरेको गैँडाको अस्थिपञ्जर भेटिएको घटनाले हेरालुको सक्रियता पनि घटेको मान्न सकिन्छ”, यादवले भन्नुभयो, “सरकारले वा दातृ निकाय कसले दिने हो, हेरालुलाई दिइँदै आएको खाजा खर्चमा अब निरन्तरता चाहिन्छ।”

 

फेरि मर्‍यो गैँडा

 

चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा एउटा भाले गैँडा सोमबार मरेको भेटिएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार मृत भेटिएको गैँडाको खाग, खुर सुरक्षित छ। सो गैँडा बूढो भएर मरेको हुनसक्ने प्रारम्भिक अनुमान रहेको पनि आचार्यले जानकारी दिनुभयो। मृत गैँडाको निकुञ्जका प्राविधिकहरूले पोस्टमार्टम गरेपछि दाहसंस्कार गरिएको छ।