व्यापार सहजीकरण गर्ने नेपाल सरकारको नयाँ नीति
2022-12-07 15:44:31cri
Share with:

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार सहजीकरण गर्न ‘व्यापार लजिस्टिक्स नीति’ २०७९ ल्याएको छ । व्यापार लागत न्यूनीकरण गरी व्यापारको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित सो नीति ल्याइएको हो । सो नीति मन्त्रिपरिषद्ले पारित गरेसँगै अब कार्यान्वयन प्रक्रियामा रहेको छ । एकीकृत व्यापार पूर्वाधार विकास, व्यापार प्रणाली सम्बद्ध आपूर्ति शृङ्खलाको व्यवस्थापन, सुशासन प्रवद्र्धन गर्ने उद्देश्यसहित नीति ल्याइएको सरकारले जनाएको छ ।

 

नीतिमा आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको कारोबार लागत कम गरी प्रतिस्पर्धी व्यापार प्रणाली निर्माण गर्न उच्चस्तरको एकीकृत यातायात प्रणालीको विकास, सूचना प्रविधिमा आधारित पूर्वाधारको विस्तार, सार्वजनिक र निजी क्षेत्रका बीचमा एकीकृत तथा समन्वयात्मक कार्य प्रणाली अवलम्बन गर्ने उल्लेख छ। मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले व्यापार पूर्वाधार विकास गर्ने, आन्तरिक र वैदेशिक लगानी जुटाउने लक्ष्य नीतिमा रहेको जानकारी दिनुभयो । नीतिमा तीनवटा क्षेत्रका १३ वटा रणनीति रहेको उहाँले बताउनुभयो। यसको कार्यान्वयनको मुख्य जिम्मेवारी वाणिज्य मन्त्रालय रहेकाले कार्ययोजना बनाएर कार्यान्वयन गरिने जानकारी उहाँले दिनुभयो । व्यापारको कारोबार लागत घटाउने, वस्तुको उपभोग मूल्यमा कमी आउने कुरालाई नीतिमा जोड दिइएको उहाँको भनाइ छ।

 

नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक कोरिडोरका रूपमा विकास गर्ने सोचलाई मूर्त रूप दिन र रेल मार्ग, जल मार्गलगायत यातायातका अन्य सम्भाव्य माध्यमको विकास गर्दै छिमेकी मुलुकको यातायात सञ्जालसँग आबद्ध गरी व्यापार लागत कम गर्ने गरी रणनीति तर्जुमा गरिएको मन्त्रालयले जनाएको छ।

व्यापार प्रणाली सम्बद्ध आपूर्ति शृङ्खलाको व्यवस्थापन सुदृढअन्तर्गत व्यापार लजिस्टिक्स र सोसँग सम्बन्धित सेवाप्रदायक प्रणालीलाई सबल बनाउने, सेवाप्रदायकको क्षमता अभिवृद्धि गर्ने, व्यापार लजिस्टिक्स सेवा सञ्चालन र उपयोगमा लघु, साना र मझौला उद्यम तथा व्यवसायलाई उद्योगको पहुँच अभिवृद्धि गर्ने, आपूर्ति शृङ्खलालाई नियमित र सुदृढ बनाउन नवीनतम प्रविधि प्रयोग गर्न सकिने नीतिमा उल्लेख छ ।

 

व्यापारविज्ञ रविशङ्कर सैँजूले लजिस्टिक्स नीतिले समग्र व्यापारलाई सहजीकरण गर्ने बताउनुभयो । व्यापार, पूर्वाधार विकास, वितरण प्रणाली व्यवस्थापन, आन्तरिक उत्पादन वृद्धिसँगै  निर्यात प्रवद्र्धन, कच्चा पदार्थको लागत घटाउने कुरालाई नीतिले जोड दिएको जानकारी उहाँले दिनुभयो । नीति प्रभावकारी रूपमा कार्यान्वयन भए व्यापार लागत कम गरी निर्यात प्रवद्र्धनमा सघाउ पुग्ने उहाँको भनाइ छ ।

 

व्यापार पूर्वाधार संरचना एकीकृत ढाँचामा निर्माण तथा सञ्चालन गर्ने, व्यापार पूर्वाधार विकास तथा सञ्चालनका लागि अन्तरसरकारी तहमा कार्यमूलक समन्वय तथा साझेदारी कायम गर्ने, आन्तरिक एवं बाह्य लगानी प्रवद्र्धन गरी व्यापार पूर्वाधार विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, व्यापार पूर्वाधारको गुणस्तर अभिवृद्धि गर्न सरोकारवालासँग समन्वय गर्ने नीतिमा उल्लेख छ । व्यापार तथा पारवहनसँग आबद्ध साझेदारसँगको आपसी सहयोग र सहकार्यको माध्यमबाट पारवहन सुविधाको विविधीकरण तथा दक्षता अभिवृद्धि गरिने नीतिमा उल्लेख छ । लजिस्टिक्स नीतिको समन्वय समितिको अध्यक्षमा मुख्य सचिव र कार्यान्वयन समितिको अध्यक्षमा वाणिज्य सचिव रहने व्यवस्था छ। गोरखापत्र अनलाइन।