चिया पनि ‘चक्लेटी’ स्वादमा
2022-12-08 16:58:51cri
Share with:

चियाबाट अनेक स्वाद लिन सकिने चियाका पारखी तथा चिया उद्योगीको भनाइ छ। इलाममा उत्पादन भएको चिया स्वादिष्ट भएकै कारण विदेशसमेत निर्यात भइरहेको छ।

पछिल्लो समय चियाको स्वादसँगै मूल्यसमेत निकै महँगोसमेत हुँदै गएको छ। सरदर रु चार सयदेखि ४० हजारसम्म प्रतिकिलो चिया बिक्री वितरण हुने गरेको किसान तथा उद्योगीको भनाइ छ।

इलाम देउमाईका किसान तथा उद्योगी बबिन श्रेष्ठले नयाँ अर्थात् चक्लेटी चिया बनाएर चियालाई केही फरक स्वादमा निकाल्ने कोसिस गरिरहेको बताउनुभयो। यो चिया विशेषगरी भुटिएको वा खारिएको चियाजस्तै लाग्छ तर प्रशोधन गरिएको चियाको नयाँ स्वाद भएकाले उहाँ आफैँले चक्लेटी चिया नाम दिनुभएको छ।

अन्य चियाभन्दा केही फरक गरी बनाइएको चियालाई चक्लेटी चिया नाम दिइएको उहाँको भनाइ छ। देउमाई नगरपालिका–४ मा रहेको हिमशिखर चिया प्रशोधन उद्योगमार्फत उहाँले चक्लेटी चिया उत्पादन गरिरहेका छन्। विशेष गरेर सो उद्योगमा उत्पादन भएको चिया रसिया जाने गरेको नेपालखबर अनलाइनले जनाएको छ।

स्वादमा फरक भएका कारण पनि चिया पारखीले यसलाई मन पराउने गरेका छन्। यो चिया कोरोनाकालको लकडाउन समयमा बाहेक सधैँ रसिया नै जाने गरेको छ। नेपालमा खासै बेच्न नपरेको उहाँ बताउनुहुन्छ। रसियाका लागि व्यापारी तथा चिया पारखी आफैँ आएर लजाने हुँदा मागअनुसार मात्रसमेत बनाइने गरेको छ। यो पनि सिल्भर र गोल्ड गरेर दुई प्रकारका चिया पाइन्छ।

हुन त ग्रिन टी पनि सिल्भर र गोल्डेन गरेर दुई प्रकारका स्वादमा पाइन्छ तर यो चिया विदेशी प्रायः सबै देशका नागरिकले मन पराउने गरेको उहाँको भनाइ छ। इलाममा चियाका धेरै परिकार बन्छन्। ‘येल्लो टी’, ‘ह्वाइट टी’, ‘सिल्भर टी’, ‘ग्रिन टी’, ‘स्पेसल ग्रिन’ र यिनमा पनि सिल्भर र गोल्ड गरेर चिया बन्छन्। यी चियाको स्वादसँगै मूल्यसमेत फरक पर्ने गरेको छ। सामान्य चिया बेच्न भारतकै भर पर्नुपर्ने समस्या छ तर विशेष प्रकारको चिया खरिदमा विभिन्न मुलुकबाट व्यापारी आउने गरेका छन्।