पश्चिम नेपालको म्याग्दीमा सातौं संस्करणको म्याग्दी महोत्सव हुँदै
2022-12-09 16:55:16cri
Share with:

निजी क्षेत्रको छाता सङ्गठन म्याग्दीको उद्योग वाणिज्य सङ्घको आयोजनामा बेनीमा आगामी पुसको अन्तिम सातादेखि सातौँ म्याग्दी महोत्सवको आयोजना गरिने भएको छ। जिल्लाको पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणका लागि महोत्सव आयोजना गर्न लागिएको हो। कोरोनाका कारण थला परेको आर्थिक क्षेत्रलाई महोत्सवले राहत मिल्ने अपेक्षा आयोजकले राखेका छन्।

 

कोरोना महामारीका कारण दुई वर्ष अघि आयोजना हुने महोत्सव स्थगित भएको थियो। बेनीमा लाग्ने परम्परागत माघे सङ्क्रान्ति मेलालाई जगेर्ना गर्न र  सङ्घले प्रत्येक तीन÷तीन वर्षमा जिल्लामा महोत्सव आयोजना गर्दै आएको छ। महोत्सवको बारेमा सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका पदाधिकारीहरूले महोत्सवले जिल्लाको विकासमा नयाँ आयाम थप्ने दाबी गरे। 

 

बेनीमा लाग्ने परम्परागत माघे सङ्क्रान्ति पर्वको अवसरमा आगामी पुस २८ देखि माघ ७ गतेसम्म बेनीको खुलामञ्चमा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला २०७९ को आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए। सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले स्थानीय उत्पादनको बजार प्रवर्द्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्र्याउने र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउनुभयो ।

 

महोत्सवको अवसरमा स्थानीय उत्पादन र राष्ट्रिय अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीका साथै लोकदोहोरी, खेलकुद प्रतियोगिता, राष्ट्रिय र स्थानीय कलाकारहरूबाट गीत तथा नृत्य प्रस्तुति, पालिकास्तरीय पुर्ख्यौली नाच प्रतियोगिता र झाँकी प्रदर्शनीलगायतका कार्यक्रम आयोजना गरिने महोत्सव मूल समितिले जानकारी दिएको छ ।

 

महोत्सवमा हेली सयर, कालीगण्डकी नदीमा र्याफ्टिङ, बाल उद्यान, मिनी चिडियाघर, स्थानीय उत्पादनको प्रदर्शनी लगायतको अवलोकनका लागि राखिने आयोजकले बताएका छन्। महोत्सव सफल बनाउन ३९ वटा उपसमिति मार्फत तयारीलाई तीव्रता दिइएको गोरखापत्र अनलाइनमा खबर छ।

 

महोत्सवलाई सफल बनाउन सङ्घ, जिल्ला समन्वय समिति, ६ वटा स्थानीय तह लगायतको सहकार्य रहनेछ । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा १ करोड २५ लाख आम्दानी र १ करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा दुई सय ५८ वटा व्यवसायीक स्टल राखिने भएको छ । स्थानीय उत्पादनलाई विक्री र प्रचारप्रसार गर्नका लागि स्थानीय तहको सिफारिसमा निशूल्क स्टलको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । बेनीमा आयोजना गरिने परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना गर्ने र जिल्लाको सम्भावनालाई उजागर गर्न सङ्घले २०६० सालदेखि महोत्सवको आयोजना गर्दै आएको छ ।