नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास
2022-12-10 16:37:17cri
Share with:

सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार गरिएको आपत्कालीन उद्धारको अभ्यास गरिएको छ। नागरिक उड्डयन प्राधिकरणको अंग्रेजी नयाँ वर्ष अर्थात जनवरी १ देखि विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको अनलाइनखबरले जनाएको छ। सोही योजनाका लागि शुक्रबार विमानस्थलमा ‘अलर्ट वान’ अर्थात एयरपोर्ट क्षेत्रमै घट्न सक्ने दुर्घटनाको उद्धारको अभ्यास गरिएको विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिनुभयो।

 

विमानस्थल नियमित सञ्चालनमा आएपछि आपत्कालीन दुर्घटना उद्धारका ३ वटा फायर फाइटिङ भेहिकल, २ वटा एम्बुलेन्स हुने प्रवक्ता जोशीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘त्यसका लागि हामीसँग चाहिने सबै कर्मचारी, जनशक्ति तयार नै हुनुहुन्छ ।’

 

प्रवक्ता जोशीले तोकिएकै समयमा विमानस्थल सञ्चालन गर्न आफूहरु तयार रहेको दावी गर्नुभयो। ‘तोकिएको समयमै विमानस्थल सञ्चालनमा ल्याउन हामी तयारी गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘यसका लागि हामी १२० दिनदेखि नै समिति गठन, सरोकारवाला निकायसँग पनि निरन्तर छलफल, अन्तरक्रियामै छौं ।’

विमानस्थल नियमित सञ्चालनका लागि मंसिर ५ गतेदेखि १२ गतेसम्म क्यालिब्रेसन फ्लाइट गरिएको छ। एरो थाई कम्पनीले क्यालिब्रेसन फ्लाइट गरेको थियो । जसको प्रतिवेदन ३ सातापछि दिने कम्पनीले जनाएको छ ।

 

मुख्य बाधकका रुपमा देखिएका समस्याहरुको समाधानको अन्तिम चरणमा पुगेको बताउनुभयो। उहाँले क्यालिब्रेसन फ्लाइटका लागि रिठ्ठेपानी डाँडा १४ मिटर काट्नुपर्नेमा १६ मिटरभन्दा बढी डाँडा कटान भइसकेको जानकारी दिनुभयो । ‘सबै गरेर ४० मिटर काटिसक्नुपर्ने हो । त्यो पनि समयमै सक्छौं,’ उहाँले भन्नुभयो, ‘अबको डाँडाको इस्यू छैन ।’

मुख्य बाधककै रुपमा रहेको पोखरा ल्यान्डफिल साइट स्थानान्तरण गर्न भने महानगरले असहयोग गरेको जोशीको गुनासो छ। १८ मंसिरदेखि नै फोहोर नफाल्ने गरी लिखित सहमति गरे पनि कार्यान्वयन नगरेको उहाँको भनाइ छ। ‘जिम्मेवार निकायबारे धेरै बोलिरहनुपरेन । अब फेरि एकपटक बस्छौं,’ उहाँले भन्नुभयो, ‘ल्यान्डफिल साइट सञ्चालनमै भएको बुझेको छु ।’

 

विमानस्थलदेखि करिब २ किलोमिटर दूरीमा ल्यान्डफिल साइट छ । तर, नियमित उडानका लागि ल्यान्डफिल साइटभन्दा पनि चराको गतिविधि मुख्य बाधक बन्ने देखिन्छ। उहाँले चरा भगाउने मेसिन खरिदका लागि टेन्डर प्रक्रियामा गइसकेको सुनाउनुभयो।

 

‘ल्यान्डफिलभन्दा पनि त्यहाँ बासस्थान बनाएका चराका कारण हामीलाई समस्या हुने हो,’ जोशीले भन्नुभयो, ‘अहिले बर्ड प्याट्रोलिङका लागि डेडिकेटेड मेसिन राखेर, झाडीहरु फाल्ने, गुँडहरु हटाउने काम गरिहेका छौं । बर्ड स्क्यानिङ मेसिन पनि टेन्डरमा गइसकेको छ ।’

 

महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रबाट ३ थान बाँदर धपाउने मेसिनसमेत ल्याएको विमानस्थलले जनाएको छ । ‘त्यसलाई हामीले प्राक्टिकल्ली नै हेर्‍यौं । धेरै राम्रो काम गरेको छ। पहिलेजस्तो चरा पनि अहिले आएका छैनन्,’ प्रवक्ता जोशीले भन्नुभयो।

 

नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीबीच ०७१ जेठ ८मा विमानस्थल बनाउन ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको २ वर्षपछि ०७३ बैशाखमा शिलान्यस भएको थियो ।

०७८ असोजमै सकिनुपर्ने भएपनि कोरोना महामारीका कारण थप एक वर्ष म्याद थपिएको थियो । विमानस्थललाई चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा ठेकेदार कम्पनीले ०७८ चैत १२ गते चैत २०७८ मै नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ।