देशविदेशमा सुदुरपश्चिम जुम्लाका उत्पादन
2022-12-11 17:07:52cri
Share with:

‘जुम्ला घर अर्गानिक्स एन्ड सुपर फुड्स’ मार्फत गत वर्ष जुम्ली मार्सी, सिमी र कोदो गरी झन्डै ३० टन खाद्यान्न क्यानडा पठाइयो । कम्पनीका सञ्चालक राज शाहीले चितवन स्थायी घर भएका पूर्ण कँडेलसँग सहकार्य गरी जुम्ली उत्पादन क्यानडाका विभिन्न सहरमा पठाउनुभएको थियो।

 

कम्पनीले यस वर्ष १ टन सिमीको दाल र १ टन मासको दाल जापानका बजारमा पनि पठाएको छ । शाहीका अनुसार १० किलो स्याउको चाना पनि जापान गइसकेको छ। उपहार र कोसेलीका रूपमा पहिले पनि जुम्लाको उत्पादन जापान र क्यानडामा पुगिरहेको छ । गत वर्ष अस्ट्रेलियामा झन्डै २५ टन मार्सी चामल र सिमी पनि निर्यात भएको कँडेलको भनाइ छ । जुम्लाघर अर्गानिक्सले कर्णालीमा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो, टिमुरलगायत सामग्री विश्वका विभिन्न बजारमा पठाइरहेको छ ।

 

तातोपानी–४ गिडीखोलाका ऋषिराम पाण्डे पनि गत भदौ १२ मा थाइल्यान्ड जाँदा झन्डै एक टन स्याउका चाना र खरायोको ऊनबाट बनेका एक सय टोपी लिएर जानुभएको थियो। जुम्लाका हरेक उत्पादनको माग विदेशमा तीव्र भए पनि बर्सेनि उत्पादन घट्दै जानु र व्यावसायिक उत्पादन नहुनु विडम्बना भएको उहाँले बताउनुभयो। जुम्ला घर अर्गानिक्सले अमेरिकामा दुई वर्षदेखि मार्सी चामल पठाइरहेको छ । गत वर्ष पनि ४० क्विन्टल जुम्ली मार्सी चामल अमेरिका पठाइएको थियो।

धेरै परिणाममा नभए पनि अस्ट्रेलिया, जर्मनी, बंगलादेश, बेलायतलगायत देशमा विभिन्न उत्पादन गइरहेको छ। मार्सी चामल, ओखर, सिमी, स्याउको चाना, चिनो र कागुनो ती देशहरूमा गइरहेको हो । जुम्लाको उत्पादनले अर्गानिक प्रमाणीकरण नपाउँदा विदेशी बजारमा सहजै लैजान समस्या भएको कार्यालयका प्रमुख गणेश अधिकारीले बताउनुभएको कान्तिपुर अनलाइनले लेखेको छ।