नेपालको अघिल्लो महिना अर्थात् कात्तिकमा साढे तीन अर्बको वैदेशिक लगानी प्रतिबद्धता
2022-12-12 16:20:56cri
Share with:

स्वदेशी लगानीकर्ताले मुलुकमा व्यवसाय गर्ने वातावरण नभएको र थप लगानी गर्न नसक्ने बताइरहेका बेला गत महिना वैदेशिक लगानी प्रतिबद्धता आश्चर्यजनक रुपमा बढेको छ।

उद्योग विभागका अनुसार कात्तिकमा २४ विदेशी लगानीका परियोजना स्वीकृत भएका छन् । यी उद्योगमा लगानी प्रतिबद्धता ३ अर्ब ६५ करोड रुपैयाँ बराबर आएको छ। असोजसम्म मन्दी रहेको वैदेशिक लगानीमा कात्तिकको तथ्यांकले आशा जगाएको छ। विभागका अनुसार कात्तिकमा ठूला उद्योग १, मझौला १० र साना उद्योगको दर्ता संख्या १९ छ । कुल दर्ता भएका उद्योगमध्ये आधा पर्यटनमूलक उद्योग छन् । पर्यटनमूलक १२, सेवामूलक १० तथा पूर्वाधार र सूचना प्रविधिमूलक उद्योग एक/एकवटा दर्ता भएको विभागले जनाएको छ।

यी उद्योगबाट १ हजार ७ सय ९१ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले यो प्रतिबद्धताले केही आशा जगाएको र सुधारको संकेत गरेको बताउनुभयो। वैदेशिक लगानी प्रतिवद्धताको लगत राख्ने विभागमा चालू आवको असोजसम्म भने जम्मा १९ वटा विदेशी लगानीका आयोजना तथा उद्योगहरु स्वीकृत भएका थिए । स्वीकृत उद्योगहरुमा कुल २ अर्ब २४ करोड विदेशी लगानी र १ हजार ४३ रोजगारी सिर्जना हुने प्रस्ताव गरिएको थियो । असोजसम्म वैदेशिक लगानी प्रतिवद्धतामा अघिल्लो आवको तुलनामा ९०.६६ प्रतिशतले गिरावट आएको देखिए पनि कात्तिकमा भने प्रतिवद्धता ह्वात्तै बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानीबापत ८ करोड रुपैयाँमात्र प्राप्त भएको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७ करोड रुपैयाँ भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार विदेशी लगानीबापत भित्रने रकममा यो गिरावट अघिल्लो वर्षको तुलनामा ९८.४२ प्रतिशतले कम रहेको कारोबार अनलाइनले जनाएको छ।

राष्ट्र बैंकका अनुसार पछिल्लो तीन महिनामा वैदेशिक लगानी उच्च दरले घटेको छ। अघिल्लो आवमा वैदेशिक लगानीमा गिरावट आउने क्रम सुरु भए पनि यसको दर सामान्यमात्र थियो। गत आर्थिक वर्ष (२०७८/०७९) मा खुद प्रत्यक्ष वैदेशिक लगानीमा ४.९ प्रतिशतले कमी आई १८ अर्ब ५६ करोड कायम भएको थियो भने अघिल्लो वर्ष (२०७७/०७८) मा खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

वैदेशिक लगानी प्रतिवद्धताको स्थिति भने उत्साहजनक रहेको देखिन्छ। आर्थिक वर्ष (२०७७/०७८) मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता ३२ अर्ब ७ करोड रहेकोमा गत आवमा यसको झन्डै दोब्बर अर्थात ५४ अर्ब १५ करोड रुपैयाँ पुगेको थियो । यसरी वैदेशिक लगानीका उद्योग दर्ता पनि अघिल्लो वर्ष १८४ रहेकोमा गत वर्ष २९५ पुगेको देखिन्छ ।

विभागको अभिलेखअनुसार हालसम्म नेपालमा विदेशी लगानीका ५ हजार ६ सय २८ औद्योगिक परियोजना स्वीकृत भएका छन्। जसमा ठूला ३ सय २३, मझौला ६ सय २२ र साना उद्योगको संख्या ४ हजार ६ सय ८३ रहेको छ । यसमध्ये सबैभन्दा बढी सेवामूलक क्षेत्रमा १ हजार ८ सय ६७, पर्यटनमूलक १ हजार ८ सय ५५, उत्पादनमूलक १ हजार २ सय ६९, कृषिमूलक २ सय ९५, सूचना प्रविधिमूलक १ सय २४, ऊर्जामूलक ९१, खनिजमूलक ७२ र पूर्वाधारजन्य उद्योगको संख्या ५५ रहेको छ।

विभागमा हालसम्म ४ खर्ब ३० अर्ब ८६ करोड ९७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको तथा यो लगानीबाट २ लाख ९७ हजार ९३५ रोजगारी सिर्जना हुने उल्लेख छ। हालसम्म ५ हजार ६ सय २५ परियोजनाका लागि यो प्रतिवद्धता आएको छ। जसमध्ये ठूला उद्योग ३ सय २३, मझौला ६ सय २२, साना ४ हजार ६ सय ८३ छन्।

विभागका महानिर्देशक तिवारीले चालू आर्थिक वर्षको सुरुवाती महिनामा वैदेशिक लगानी प्रतिवद्धताको स्थिति कमजोर रहे पनि कात्तिक महिनामा भने केही सुधार देखिएको बताउनुभयो।