तनहुँ जिल्लास्थित एउटा जलविद्युतको सुरुङ खन्ने काम ४३ प्रतिशत पूरा
2022-12-12 16:23:22cri
Share with:

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ (पानी ल्याउने) को ४३ प्रतिशत पूरा भएको छ । कुल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेमा सो प्रतिशत अर्थात् छ सय १० मिटर सम्पन्न भएको तनहुँ जलविद्युत् आयोजनाको वरिष्ठ सहायक उद्धव पौडेलले जानकारी दिनुभयो।

प्याकेज दुई अन्तर्गत विद्युतगृह जाने टनेलको भने सबै काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । एक सय ९० मिटरको केवल सुरुङ, २८१ मिटरको मुख्य प्रवेश सुरुङ, ४३७ मिटरको सर्च ट्याङ्क जाने पहुँच सुरुङ र ३१४ मिटरको ड्याम जाने सुरुङ खनेर सकिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङ निर्माणकार्यमा चार सय ७५ जना जनशक्ति परिचालन गरिएको छ  ।

ऋषिङ गाउँपालिका१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट यो  आयोजनाको निर्माणकार्यलाई तीव्रता दिइएको छ । पानी निस्कने सुरुङको ढलान गर्ने काम भइरहेको आयोजनाका वरिष्ठ सहायक पौडेलले जानकारी दिनुभयो । उक्त प्याकेजको ठेक्का सोङ दाकालिका जेभीले पाएको छ । आयोजनाको प्याकेज दुई अन्तर्गत सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायत कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ । सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्यृतगृहको सुरुङ खन्ने काम सम्पन्न गरेको आयोजनाले जनाएको छ । विद्युत् गृहको सुरुङ खन्ने काम सन् २०२० अगस्टदेखि प्रारम्भ भएको थियो ।

गोरखापत्र अनलाइनका अनुसार वि.सं. २०६२ सालमा पहिचान भएको र बर्सैभरि १४० मेगावाट विद्युत् उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो।

आयोजनाको क्षेत्रभित्र ऋषिङ गाउँपालिका १, ६ र ७ गरी तीन वटा वडा, म्याग्दे गाउँपालिकाको १,,,, र ५ गरी पाँच वट वडा, व्यास नगरपालिकाको वडा नम्बर ५, भिमाद नगरपालिकाको ५ र ६ पर्दछ । आयोजनाको लम्बाइ करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ वर्ग किलोमिटर छ । त्यस्तै, जलाशयको कुल भण्डारण क्षमता २९५।१ मिलियन घनमिटर रहनेछ । आयोजनाको बाँध स्थल दमौलीनजिकैको दुले पहरामा १४० मिटर अग्लो र २१५ मिटर लामो कङक्रिट बाँध बनाइनेछ । काँहुडाँडाभित्र ११ सय ६२ मिटर लामो सुरुङ मार्गबाट निर्माण गरी सेती नदीको पानीलाई भूमिगत विद्युत् गृहमा पुर्याएर विद्युत् उत्पादन गरिने आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार ७०/७० मेगावाटका दुई वटा फ्रान्सिस टर्बाइन रहनेछन् । तनहुँ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् २२० केभीको डबल सर्किट बाट ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर भरतपुरस्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । ५० करोड ५० लाख अमेरिकी डलरको लागि एसियाली विकास बैङ्क [एडीबी] ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग [जाइका]ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले ८ करोड ५० लाख र नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

तनहुँमा निर्माणाधीन यस जलविद्युत् आयोजना १४० मेगावाट क्षमताको छ । आयोजनाबाट विद्युत् उत्पादनको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख, त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको छ ।