४४ वटा जलविद्युत् आयोजनाद्वारा निर्माण अनुमतिका लागि आवेदन
2022-12-12 16:22:03cri
Share with:

चालू आर्थिक वर्षमा ४४ वटा जलविद्युत् आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका छन् । निर्माण अनुमतिका लागि विद्युत् विकास विभागमा निवेदन दिएका ९५ वटा आयोजनामध्ये ती आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका हुन्। कुल सात हजार १५८ मेगावाट क्षमताका ती आयोजनामध्ये चालू आर्थिक वर्षमा मात्रै एक हजार ८६६.२ मेगावाट क्षमताका आयोजनाका प्रवर्द्धकले अध्ययन सकेर आवदेन दिएका हुन्।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)का सदस्य प्रकाश दुलालका अनुसार लाइसेन्सको अवधि गुज्रने खतराले यो वर्ष निर्माण लाइसेन्सको आवेदन बढेको हो । उहाँले भन्नुभयो, “लाइसेन्स खारेज हुनबाट जोगिन आवेदन गरिएको हो। विद्युत् खरिद बिक्री सम्झौताको टुङ्गो नलागे पनि अध्ययन तथा अन्य कार्यमा खर्च भइसकेका आयोजना जोगाउनुपर्ने बाध्यता हाम्रो छ।

आवेदन दिनेमा सबैभन्दा ठूलो आयोजना टीबीआई होल्डिङ्स प्रवर्द्धक रहेको छ सय मेगावाटको तामाकोसी३ रहेको छ । दोलखा र रामेछापमा बनाउने प्रस्ताव गरिएको यो आयोजना निर्माणका लागि गत असोजमा विभागमा आवदेन परेको हो। ठूलो क्षमताको प्रस्तावित आयोजनामा बुटवल पावर कम्पनीले मुगु कर्णाली जलविद्युत् आयोजना पनि छ । बीपीसीले यही मङ्सिर २ गते १५९ मेगावाटको सो आयोजना निर्माणका लागि आवेदन गरेको हो। नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको रूपाबेगनास जलाशययुक्त आयोजना पनि छ । प्राधिकरणले सो आयोजनाबाट १५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । ९१ मेगावाटको बूढीगण्डकी नदी आयोजना निर्माणका लागि सूर्य इनर्जी प्रालिले पनि असोजमै आवेदन दिएको छ ।

गोरखापत्रका अनुसार विद्युत् आयोजनाको सर्वेक्षण लाइसेन्स लिएको पाँच वर्षभित्र निर्माण अनुमतिका लागि आवेदन दिइसकेको हुनुपर्छ । विभागबाट सर्वेक्षण अनुमति लिएपछि सम्भाव्यता अध्ययन, वातावरणीय अध्ययन उद्योग दर्ता र कनेक्सन एग्रिमेन्ट लिनुपर्छ।