कोरोना महामारी खुकुलो पारिएबाट चीनमा बस्ने विदेशीहरू उत्साहित भएको हपै कृषि विश्वविद्यालयका नेपाली सहप्राध्यापक डा.चित्रकारको ठहर
2022-12-13 16:16:26cri
Share with:

 

सावधानीका विभिन्न १० वटा विकल्प प्रस्तुत गर्दै चीनले हालै कोभिड – १९ महामारी नियन्त्रणलाई तुलनात्मक सहज बनाएको छ। यसबाट चीनमा बस्ने विदेशीहरूले पनि सहज अनुभव गरेका छन् भने शपिङ मल वा कुनै पनि बजारमा जाँदा हुने तनावबाट मुक्त भएको बताएका छन्। नत्र कतिपयस्थलमा प्रवेश गर्दा मोबाइलमा आफ्ना दस्तावेज अपडेट भए, नभएको पत्ता लगाउनुपर्ने बाध्यता रहन्थ्यो। हपै कृषि विश्वविद्यालयको कलेज अफ फुड साइन्स एण्ड टेक्नोलोजीमा कार्यरत नेपाली एसोसिएटेड प्रोफेसर डा.बिमल चित्रकारले पहिलाजस्तो कतै यात्रा गर्नुपर्दा त्यो सहरको नीति बुझ्नलाई निकै समय खर्चिनुपर्ने झन्झट अब नरहेको बताउनुभयो।

जनस्तरबाट यो खुकुलोपनको सही तरिकाले लाभ उठाउनुपर्ने भन्दै उहाँले खुलापनको दुरुपयोग भएर फेरि बन्दाबन्दीको अवस्था नआओस भन्नेतर्फ सबै चनाखो हुनुपर्ने बताउनुभयो। उहाँले सुझाव दिँदै भन्नुभयो, ‘भाइरसदेखि चनाखो हुनुपर्छ। भीडभाड नगर्ने, मास्क प्रयोग जारी राख्ने, स्वस्थ खानपान तथा जीवनशैली अपनाउने, शारीरिक र मानसिक स्वास्थ्यलाई चुस्त दुरुस्त राख्ने जस्ता कुराहरुमा ध्यान दिनुपर्छ।’ 

 

विश्वका सबैजसो देशहरू आफ्नो उत्पादन निर्यात गर्ने र ती देशहरु चीनको उत्पादनमा निर्भर छन्। विगत ३ वर्षदेखिको कोरोना कहरले निर्यात लगायत अन्य अर्थ सम्बन्धित क्रियाकलापमा नकारात्मक प्रभाव परेको देखिन्छ। शिक्षा क्षेत्रसँग सम्बन्धित भएको नाताले प्रोफेसर डा. चित्रकारले चीनमा अध्ययनको लागि नेपालबाट धेरै नै सोधखोज भइरहेकोले आफूले उत्तर दिन धेरै समय खर्चिएको बताउनुभयो।

नेपाल तथा भारतका ब्यापारीहरु जसले चीनबाट मेशिन तथा कच्चा पदार्थ खरिद गर्थे। कोभिडका कारण कारोबारमा निकै कमी आएको थियो। मुख्यतया नयाँ मेशिनको लागि भौतिक रुपमै निरीक्षण गरेर मात्र खरिदको सुनिश्चितता गर्ने परिपाटी अनुसार नेपाल तथा भारतबाट आफ्नो सम्पर्कका कसैले पनि सामान किन्न नपाएको प्रोफेसर चित्रकारको अनुभव छ। उहाँले आशा गर्नुभयो, ‘अबको यो खुल्लापनले पक्कै पनि यी र यस्ता आर्थिक गतिविधि र विश्वब्यापी सम्पर्कमा सकारात्मक प्रभाव पार्नेछ।’